काठमाडौं । नेपाल राष्ट्र बैंकले अब दैनिक १५ लाख रुपैयाँसम्म रेमिटेन्स भित्र्याउन पाउने व्यवस्था गरेकाे छ । सोमबार एकिकृत निर्देशन जारी गर्दै यस्ताे व्यवस्था गरेकाे हाे ।
नेपाली वा विदेशी नागरिक वा नेपालमा दर्ता भएका फर्म,कम्पनी,संस्था र शाखा कार्यालयले बिक्री, कमिशन, शुल्क, पारिश्रमिक लगायत विभिन्न प्रयोजनका लागि फिर्ता नहुने गरी विदेशी (नागरिक वा फर्म,कम्पनी वा संस्था) बाट प्राप्त हुने रकम इजाजतपत्र प्राप्त विप्रेषण कम्पनी मार्फत् सम्बन्धित वेनेफिसियरीको खातामा जम्मा गर्ने गरी दैनिक १५ लाख रुपैयाँ सम्म एकपटक वा पटक पटकको विप्रेषण रकम ल्याउन सकिने व्यवस्था पनि गरेको छ । यसअघि १० लाख रुपैयाँसम्मको मात्रै व्यवस्था थियो ।
यसरी भित्र्याइने विप्रेषणको उल्लेखित ढाँचामा मासिक रुपमा कारोबारको तथ्याङ्क राखी बैंकको सम्बन्धित विभागमा पेश गर्नुपर्ने बैंकले जनाएको छ ।



