काठमाण्डौं । उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बञ्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीहरुले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने बताए ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बञ्चरे डाडाँ फोहोर ल्याडफिल्ड साइट प्रभावीत क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न ३ महिना समय मागेपछि आन्दोलन हाललाई रोकेको जानकारी दिएको हो ।
गत साउन २९ गते शहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र उक्त टोलीले तयार पारेको प्रतिवेदन अनुसार काम अघि बढाउने निर्णय गरेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थागित गरिएको समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।
उनले ३ महिनासम्म सम्पुर्ण सिस्डोल फोहोर व्यवस्थापन संघर्ष समितिहरुले आफ्नो आन्दोलन रोकेर प्राविधिकको टोलीलाई सहयोग गर्ने बताए । ढुंगानाले काठमाडौं महानगरको काम र भुमिकालाई हेरेर आफुहरुको गतिविधि बढाइने स्पष्ट पारे ।
उनले राज्यको प्रतिनिधित्व गर्ने काठमाडौं महानगरले धेरै वर्षदेखि स्थानीयहरुलाई अवान्चित रुपमा समस्या खडा गरेर चुप बसेको भन्दै उक्त कार्य फेरी नदोहोर्याउन समेत चेतावनी दिए ।
ढुंगानाले विगत १५ वर्षदेखि नेपाल सरकार, मन्त्रिपरिषद र सम्बन्धित मन्त्रालयहरुले पुर्न लेखन गरेर त्यहाँको वातावरण, पश्पक्षी, जग्गा प्राप्ती, गुठी, कृषी उद्योग,छाडा जंगली जनावरले गरेका असरको बारेमा अध्ययन गरेपनि समाधानबारे चासो नदिएको बताए ।



