काठमाडौं । नेपाल धितोपत्र बोर्डले थ्राईभ ब्रोकरेज हाउसलाई कारबाही गरेको छ । धितोपत्र बोर्डबाट अनुमति नलिई शाखा विस्तार गरी कारोबार गरेको भनि ५० हजार रुपैयाँ जरिवाना तिराएको हो । बोर्डका अनुसार ब्रोकर कम्पनीले तनहुँमा बिना अनुमति शाखा संचालनमा ल्याएको थियो।
धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम सो रकम तिरेको हो । यस्तै, धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४० को उपनियम (१) मा “धितोपत्र दलाल र धितोपत्र व्यापारीले बोर्डको स्वीकृति लिई शाखा कार्यालय खोल्न सक्नेछ” भन्ने व्यवस्था रहेको छ ।
धितोपत्र दलाल व्यवसायी नियमावली अनुरुप थ्राईभ ब्रोकरेज हाउसले तनहुँ जिल्ला स्थित व्यास नगरपालिको वडा नं. २,दमौलीमा शाखा कार्यालय स्थापना गरेको देखिएकोले उक्त धितोपत्र दलाल व्यवसायीलाई जरिवाना तिराएकाे बाेर्डले जनाएकाे छ ।



