काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा बीमासम्बन्धी विधेयक, २०७५ पारित भएको छ । बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको ४ वर्षपछि पारित भएको हो ।
बिमा प्रणाली तथा बिमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाउन भन्दै तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले २०७५ असार २७ गते संघीय संसद् सचिवालयमा विधेयक दर्ता गराएका थिए । त्यस्तै, विधेयकमाथिको छलफलमा उठेका विषयमा जवाफ दिँदै अर्थमन्त्री जनार्दन शर्माले बीमा क्षेत्रका विकृति र विसङ्गतिको अन्त्य र उत्पन्न समस्याको समाधानका लागि नयाँ विधेयक ल्याइएको बताएका छन् ।
विधेयकले बिमा व्यवसायको नियमनकारी निकायका रुपमा नेपाल बिमा प्राधिकरण स्थापना गर्ने व्यवस्था गरेको छ । प्राधिकरण गठन भएसँगै हाल सञ्चालनमा रहेको बिमा समिति खारेज हुनेछ । प्राधिकरणले बिमा सम्बन्धमा सरकारको सल्लाहकारको रुपमा काम गर्ने मात्र नभई राष्ट्रिय बिमा नीति बनाउने, बिमा कम्पनीहरूको स्थापनाको स्वीकृति‚ इजाजत, नवीकरण र खारेजसम्मका काम गर्नेछ ।
त्यस्तै, सांसदहरु भरत साह, दिव्यमणि राजभण्डारी, प्रेम सुवाल, राजन केसीलगायतले विधेयकमाथिको छलफलमा भाग लिएका थिए ।



