काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्ले विभिन्न २४ वटा निर्णय गरेको छ । शुुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । सरकारले विश्व बैंकबाट हरित उत्थानशील समावेशी विकासका लागि प्राप्ति हुने अमेरिक डलर १०० मिलियन (करिव १२ अर्ब ७०) करोड सहुलियत पुर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
त्यस्तै, जापान सरकारबाट पुर्वी तराइको सिचाइँको प्रणाली पुर्नस्थापनको लागि जापानी यने २२५६ मिलियन ( करिव २ अर्ब १३ करोड ६४ लाख ) अनुदान स्वीकार गर्ने निर्णय गरेको छ ।
‘सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्वास्थ्य सेवा, संसद सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षकका लागि २०७९ साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलबमान एवम् ग्रेड स्वीकृत गर्ने' निर्णय गरेकाे छ ।
आर्थिक बर्ष २०७९/८० का लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय अन्तर्गत विभिन्न योजनाहरुको लागि राजपत्रांकित श्रेणीका ५१ वटा पदहरुको अस्थायी दरवन्दीलाई स्वीकार गर्ने, सशस्त्र प्रहरी सेवा आयोगको सदस्य समेत तोक्ने निर्णय गरेको छ ।
सप्तकोशी नदीमा आएको बाढीबाट बढी क्षति भएका भौगोलीक क्षेत्रलाई विपद् संकटग्रस्थ क्षेत्र घोषणा गर्ने र आर्थिक बर्ष २०७९/८० का लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत विभिन्न योजनाहरुको लागि राजपत्रांकित श्रेणीका ३५५ वटा पदहरुको अस्थायी दरबन्दीलाई स्वीकार गर्ने निर्णय गरेको छ ।
सरकारले यसअघि नसीम राईनको प्रमाणपत्र नं १५–०१–७१–०५७४० विसं २०७१ मङ्सिर ७ गते जारी भएको वंशजको नागरिकता रद्द गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरेको छ । सरकारले सप्तकोसी नदीमा आएको बाढीबाट बढी क्षति भएका भौगोलिक क्षेत्रलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ ।
सरकारले राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन (पहिलो संशोधन) निर्देशिका, २०७९ स्वीकृत गरेको छ । सरकारले भारतीय सेनाका स्थल सेनाध्यक्षलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पठाउने भएको छ । अमेरिकी ऊर्जा विभागको आयोजनामा आगामी नोभेम्बर १४ देखि १८ सम्म आयोजना हुने कार्यक्रममा नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिवलाई भाग लिन स्वीकृति दिएको छ ।
रोमानियाको बुखारेष्टमा आगामी असोज १० गतेदेखि २८ गतेसम्म सञ्चालन हुने अन्तर्राष्ट्रिय दूरसञ्चार सङ्घको कार्यक्रममा सहभागी हुन सञ्चार तथा सूचना प्रविधि मन्त्रीलाई स्वीकृति दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ । नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूची ३ हेरफेर गर्ने र सो को नेपाल राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
त्यस्तै, आगामी भदौ ७ गतेदेखि ९ गतेसम्म थाइल्याण्डको राजधानी बैंककमा आयोजना हुने संयुक्त राष्ट्रसङ्घको कार्यक्रममा भाग लिन राष्ट्रिय योजना आयोगका सचिवलाई स्वीकृत दिने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।



