images
images

प्रसारण पूर्वाधारमा नेपाल विद्युत् प्राधिकरणको प्रगति


  • 461
    SHARES
  • २०७९ श्रावण २६ गते बिहीबार

    प्रसारण पूर्वाधारमा नेपाल विद्युत् प्राधिकरणको प्रगति

    काठमाडौं । विद्युत् वितरण तथा प्रसारणका लागि महत्वपूर्ण मानिएको प्रसारण लाइन निर्माणमा नेपाल विद्युत् प्राधिकरणले प्रगति गरेको छ । प्राधिकरणले आर्थिक वर्ष २०७८/७९ मा कूल ७ सय ५३ सर्किट किलोमिटर प्रसारण लाइनको निर्माण सम्पन्न गरेको छ । 

    प्रसारण लाइन तथा वितरण लाइन निर्माणमा रणनीतिक रुपमा अगाडि बढिरहेको प्राधिकरणले आफ्नो लक्ष्यअनुसार नै काम भएको जनाएको छ । 

    ग्रीड सवस्टेशनको क्षमता ७ सय ४ एमभिए बराबर थपिएको छ ।  प्रसारण लाइनको रुट परिवर्तनको माग, सर्वोच्च अदालतको अन्तरिम आदेश, वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृति प्रक्रियामा भएको ढिलाइ, विकट भौगोलिक अवस्था जस्ता कारणले जीर्ण बनेको सोलु करिडोर १ सय ३२ केभी क्षमताको ९० किलोमिटर लामो डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भइ सञ्चालनमा आएको छ । 

    अरुण र तमोर नदी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा आबद्ध गर्न नेपालको हालसम्मको सबभन्दा लामो दूरीको कोसी करिडोर २ सय २० केभी प्रसारण लाइनको पहिलो खण्ड निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

    सो प्रसारण लाइनबाट तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब १ हजार मेगावाट, ढुङ्गेसाँघु (ताप्लेजुङ) देखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब २ हजार मेगावाट विद्युत् प्रसारण गर्न सकिने प्राधिकरणको भनाइ छ । 

    सो आर्थिक बर्षमा मस्र्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन  मस्र्याङ्दी–काठमाडौं दुई सय २० केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भएको छ ।

    तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट काठमाडौँको मातातीर्थसम्मको कूल ८२ किलोमिटर प्रसारण लाइन निर्माण सम्पन्न भई हाल १ सय ३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ ।

    नयाँ मोदी (पर्वत)–लाहाचोक (कास्की) एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन पनि सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।लामो समयदेखि जीर्ण बनेको भरतपुर–बर्दघाट २ सय २० केभी प्रसारण लाइन अधिकांश भाग निर्माण सम्पन्न भई सञ्चालन भएको छ । 

    रुपन्देही भैरहवा क्षेत्रको विद्युत् आपूर्तिमा सुधार र प्राविधिक चुहावट नियन्त्रणका लागि योगीकुटी (बुटवल) बाट मैनहियासम्मको १८ किलोमिटर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ । प्रसारण लाइनको निर्माणसँगै करिब २ सय मेगावाट विद्युत् प्रवाह हुन सक्ने पूर्वाधार तयार भएको छ । 

    मैनहिया सवस्टेसनबाट भारतको उत्तरप्रदेशसँग विद्युत् प्रवाहका लागि एक सय ३२ केभी डबल सर्किट प्रसारण लाइन निर्माण भइरहेको छ । मैनहिया सवस्टेसनबाट भारतको उत्तर प्रदेशस्थित सम्पत्तिया (न्यू नौतनुवा) सवस्टेसन जोड्ने प्रसारण लाइनको निर्माण सम्पन्न भएपछि भारतसँगको विद्युत् व्यापारका लागि थप प्रसारण सञ्जाल तयार हुनेछ । 

    आर्थिक बर्ष २०६५/६६ मा सुरु भई विभिन्न समस्या झेल्दै जीर्ण बनेको ४० किलोमिटर लामो सिंगटी–लामोसाँघु एक सय ३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भई सञ्चालनमा आएको छ । कुसाहा–विराटनगर १ सय ३२ केभी, इनरुवा–विराटनगर १ सय ३२ केभी, ढल्केवार–बाँणगंगा १ सय ३२ केभी, खिम्ती–गज्र्याङ १ सय ३२ केभी र  खिम्ती–बाह्रविसे– लप्सीफेदी ४ सय केभी निर्माण सम्पन्न हुनेक्रममा छ । 

    त्यस्तै बलेफि–बाह्रबिसे करिडोर १ सय ३२ केभी, चिलिमे–त्रिशूली २ सय २० केभी, मस्र्याङ्दी करिडोर २ २० केभी, कालिगण्डकी करिडोर २ सय २० केभी, दोर्दी करिडोर १ सय ३२ केभी प्रसारण लाइन निर्माण सम्पन्न हुने क्रममा छ । 

    लेखनाथ–दमौली २ सय २० केभी, डाँडाखेत–राहुघाट १ सय ३२ केभी, हेटौँडा–ढल्केबर–इनरुवा ४ सय केभी,  हेटौँडा–भरतपुर–बर्दघाट २ सय २० केभी, वर्दघाट– न्यू बुटवल २ सय २० केभी, बर्दघाट–सार्दी ह्वाङ्सी १ सय ३२ केभी, मोतिपुर–गुल्मी–अर्घाखाँची १ सय ३२ केभी,  कोहलपुर– नेपालगन्ज १ सय ३२ केभी,  कोहलपुर–सुर्खेत–दैलेख १ सय ३२ केभी,  चमेलिया–स्याउले–अत्तेरिया १ सय ३२ केभी दोस्रो सर्किट प्रसारण लाइन लगायतका आयोजना निर्माणको विभिन्न चरणमा छन् । अधिकांश आयोजना आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न हुनेछन् । 

    विद्युत् प्रसारणलाई अझ विस्तारित र भरपर्दो बनाउन थप आयोजनाको अध्ययन भइरहेको छ । न्यू बुटवल–लकही–कोहलपुर–न्यू अत्तरिया ४ सय ४० केभी, अरुण हब–तिंला हब–लिखु हब–न्यू खिम्ती–सुनकोशी हब–ढल्केबर ४ सय केभी, विभिन्न चरणमा रहेको प्राधिकरणको भनाइ छ । 

    बुढीगण्डकी करिडोर ४ सय केभी, दमौली–कुश्मा–बुर्तिबाङ–बाफिकोट ४सय केभी, तुम्लिङटार–सितलपाटी २ सय २० केभी, त्रिशूली–३ बी हब–रातमाटे २ सय २० केभी, दैलेख–कालिकोटकोट–जुम्ला १ सय ३२ केभी प्रसारण लाइन अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेको प्राधिकरणको भनाइ छ । 

    बुटवल–गोरखपुर चार सय केभी दोस्रो अन्तरदेशीय प्रसारण लाइन कार्यान्वयनको चरणमा पुगेको छ । इनरुवा–पूर्णिया र लम्की–बरेली चार सय केभी प्रसारण लाइन तथा कोहलपुरदेखि उत्तरप्रदेशको नानपारा जोड्ने १ सय ३२ केभी प्रसारण लाइनको सम्भाव्यता अध्ययन पूरा भएको छ । 

    यी पूर्वाधार बनेपछि नेपालमा खपत भई बाँकी विद्युत् भारतीय बजारमा बिक्री गर्न थप सहज हुनेछ । नेपाल र चीनबीच विद्युत् प्रसार गर्न रातोमाटे रसुवागडी केरुङ ४ सय केभी क्षमताको प्रसारण लाइन निर्माणको लागि नेपालतर्फको लाइनको सम्भाव्यता अध्ययन पूरा भएका छ । यो आयोजना कार्यान्वयन गर्न लगानीको ढाँचामा छलफल भइरहेको छ । 


    images
    images

    Logo