काठमाडौं । नेपाल धितोपत्र बोर्डले मर्जर वा एक्विजिसनपछि अस्थित्व गुमाउने संस्थाको मात्रै शेयर कारोबार रोक्का गर्ने प्रस्ताव गरेको छ । संगठित संस्थालाई गाभ्ने वा गाभिने वा प्राप्ति गर्नेसम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गर्दै बोर्डले यस्तो प्रस्ताव गरेको हो । प्रस्तावित मस्यौदाउपर प्राप्त सुझावलाई समेटेर निर्देशिका लागु हुनेछ ।
मस्यौदामा मर्जर वा प्राप्तिपछि कुनै कम्पनीको नाम परिवर्तन हुन्छ भने त्यस्तो कम्पनीको शेयर कारोबार बढीमा १५ दिनसम्म रोकिने व्यवस्था गर्ने जनाएको छ । अस्थित्व नमेटिने वा नाम परिवर्तन नहुने कम्पनीका हकमा कारोबार रोक्नु नपर्ने निर्देशिकामा व्यवस्था गरिएको छ ।
त्यस्तै, मर्जर वा प्राप्तिअघि यस्तो सूचना चुहाउन नहुने, मर्जरका लागि सूचीकृत संस्थाले धितोपत्र बोर्डमा आवेदन दिनुपर्ने व्यवस्था समेत गरिएको छ ।



