images
images

उपत्यकामा नो हर्न अभियान पुनः सुरु, हर्न बजाए ५ सय रुपैयाँसम्म जरिवाना तिनुपर्ने


  • 243
    SHARES
  • २०७९ श्रावण २२ गते आइतबार

    उपत्यकामा नो हर्न अभियान पुनः सुरु, हर्न बजाए ५ सय रुपैयाँसम्म जरिवाना तिनुपर्ने

    काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि नो हर्न कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको प्रमुख आतिथ्यमा आज एक कार्यक्रमकाबीच नो हर्न अभियानलाई पुनः सुरु गरिएको हो । 

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौँ महानगर प्रमुख शाहले ‘नो हर्न’ लेखिएको पहेँलो स्टिकर एकअर्काको सवारी साधनमा टाँसेर कार्यक्रमको शुभारम्भ भएको घोषणा गरेका थिए । 

    ‘नो हर्न’ अभियान सफल बनाउनका साथै सडक प्रयोगकर्तामा सचेतना फैलाउन आजदेखि पद्मकन्या बहुमुखी क्याम्पसका १ सय जना विद्यार्थी १५ दिनका लागि ट्राफिक प्रहरीसँगै सडकमा खटिएका छन् । हर्नले ध्वनी प्रदूषण मात्र नभइ व्यक्तिको मानसिक स्वास्थ्यमा समेत नकारात्मक प्रभाव पार्ने भएकाले ‘नो हर्न’ कार्यक्रमलाई निरन्तरता दिन लागिएको काठमाडौँ महानगर प्रमुख शाहले बताए  ।

    काठमाडौँ उपत्यकामा ध्वनी प्रदूषण नियन्त्रणका लागि २०७४ वैशाख १ गतेदेखि ‘नो हर्न’ लागू गरिएको थियो । सवारीको गम्भिर दुर्घटना हुने गरी खतरा भएमा र सवारी गुडिरहँदा सडकको एक भागबाट अर्कोभाग नदेखिने मोड आएमा मात्रै हर्न बजाउन पाइने ट्राफिक महाशाखाले जनाएको छ । केही समय लागू भए पनि पछिल्लो समयमा कार्यान्वयन हुन सकिरहेको थिएन । अहिले पुनः कार्यक्रमलाई तीव्रता दिन लागिएको छ ।

    यदि काठमाडौं उपत्यका भित्र अनावश्यकरुपमा हर्न बजाए ५०० रुपैयाँ जरिवाना हुने व्यवस्था गरिएको छ । ‘नो हर्न’को नियम एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा कुद्ने सवारीका हकमा भने लागू हुनेछैन । 

    कार्यक्रमको थालनी रामशाहपथस्थित काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्राङ्गणबाट गरिएको थियो । त्यसपछि काठमाडौँ महानगरपालिकाका प्रमुख शाह, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक चौधरी, स्वयमसेवक, पद्मकन्या क्याम्पसका प्राध्यापक र विद्ययार्थीले सिंहदरबार चोकमा गई सार्वजनिक तथा निजी सवारी साधनमा ‘नो हर्न’ लेखिएको स्टिकर टाँसेका थिए । 


    images
    images

    Logo