काठमाडौं । भारतबाट कच्चा सुर्ती राजस्व छलि ल्याई भण्डारण गरी कारोबार गर्ने कार्यमा संलग्न रहेको ४ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ५६ वर्षीय पोष्टराज गौतम,५३ वर्षीय सुरेश पोख्रेल, ४४ वर्षीय दिनेश चौधरी र ३८ वर्षीय अरबिन्द अग्रवाल रहेका छन् ।
काठमाडौं उपत्यकाभित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट कच्चा सुर्ती राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न पोष्टराजलाई काठमाडौं पेप्ससीकोला र दिनेशलाई काठमाडौ कुलेश्वरबाट पक्राउ गरेको हो ।
उनीहरुको बयानका आधारमा अरविन्द अग्रवाल र सुरेश पोखरेलले संचालन गरेको ललितपुर महानगर–२१ स्थित खोकनाको न्यू शुभ लक्ष्मी सुर्ती उद्योगमा प्रहरीले छापा मारेको थियो ।
राजस्व अनुसन्धान विभागसँगको समन्वयमा भैँसेपाटीमा रहेको दुईवटा गोदाम र अफिस तथा खोकनाको न्यू शुभलक्ष्मी सुर्ती उद्योगबाट सो सुर्ती बरामद गरिएको दिए ।राजस्व अनुसन्धान विभागसँगको समन्वयमा ८ हजार तयारी सुर्ती र २० हजार कच्चा सुर्ती बरामद गरिएको छ ।
पक्राउ परेका सवै जनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।



