काठमाडौं । विभिन्न फौजदारी मुद्दाका अभियुक्तसँग घुस मागेर मुद्दा कमजोर बनाएको भन्दै रौतहटका जिल्ला न्यायाधीवक्ता उदयचन्द्र अधिकारीविरुद्ध उजुरी परेको छ । रौतहट गौरका पुलिन्दर सहनीले न्यायाधीवक्ता अधिकारीविरुद्ध न्याय सेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र महान्यायाधीवक्ताको कार्यालयमा सोमबार उजुरी दर्ता गराएका हुन् ।
सहनीले दर्ता गरेको उजुरीमा न्यायाधीवक्ता अधिकारीले विभिन्न मुद्दामा पीडकसँग साँठगाँठ गरेर मुद्दा कमजोर बनाएको, नक्कली पीडित खडा गरेर निर्दोष व्यक्तिलाई फसाउने गरेको आरोप लगाइएकाे छ । उजुरीमा यस्ता ५ वटा घटनाको विवरण उल्लेख गरेर अधिकारीविरुद्ध कारबाहीको माग गरिएको छ ।
जिल्ला अदालत रौतहटमा दर्ता भएको सवारी ज्यान मुद्दामा अभियुक्तसँग १० लाख रुपैयाँ लिएर अभियोजन कमजोर गरेको आरोप लगाएका छन् । सो मुद्दामा १० वर्षसम्मको कैद र १ लाख रुपैयाँसम्मको जरिवाना हुनसक्नेगरी मुद्दा चलाउनुपर्नेगरी प्रहरीले दिएको रायलाई वेवास्ता गर्दै अर्कै दफा लगाएर पीडकलाई उन्मुक्ति दिएको उनको दाबी छ ।
त्यस्तै, लागु औषध कारोबारमा संलग्न भएको भन्दै प्रहरीले पक्राउ गरेको व्यक्तिलाई सबुदको अभाव भन्दै मुद्दा नै नचलाउने निर्णय गरेको समेत उजुरीकर्ताको आरोप छ । यसले गर्दा कार्यालयका अन्य कर्मचारीमा समेत नैराश्यता प्रकट भएको र लागु औसत कारोबारलाई प्रोत्साहन मिलेको उजुरीमा उल्लेख गरिएको छ ।
त्यस्तै, रौतहटमा ४ वर्षीय बालिकाको अपहरण मुद्दामा समेत अधिकारीले १५ लाख रुपैयाँ दिएर पीडकले उन्मुक्ति पाउनेगरी मुद्दा चलाएको, सबुद नभएका व्यक्तिविरुद्ध नक्कली पीडित खडा गरी सरकार वादी भएको फौजदारी मुद्दा अभियोजन गरिदिएको चोरी मुद्दामा अभियुक्तसँग १/१ लाख रुपैयाँ लिएर पीडितलाई नै थप पीडा दिनेगरी अभियोजनको काम गरेको आरोप लगाइएको छ । कतिपय मुद्दामा अभियुक्तसँग पैसा लिएर मुद्दा हारिदिने, पेशी सारिदिने गरेको आरोपसमेत सरकारी वकिल अधिकारीविरुद्ध लगाइएको छ ।
उनको यस्तो हर्कत सरकारी विकलको पदीय आचारसंहिताविपरित भएको र यसले न्याय क्षेत्रलाई नै बदनाम गरेको भन्दै उनीविरुद्ध कानूनी कारबाही गर्न सहनीले माग गरेका छन् ।



