काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्नेका लागि धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले सोमबार एकैपटक २ बटा ऋणपत्र निष्काशनका लागि बोर्डबाट अनुमति पाएको हो ।
यो सँगै बैंकले ४ अर्ब रुपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको हो। जसमा बैंकले ६ वर्षका लागि एभरेष्ट बैंक लिमिटेड ऋणपत्र नामक ऋणपत्र जारी गर्ने छ। बैंकले २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता जारी गर्ने भएको हो। सो ऋणपत्रको वार्षिक ब्याजदर १०.५ प्रतिशत ब्याजदर पाइनेछ ।
सो ऋणपत्रमध्ये ८० करोड रुपैयाँ बराबरको इकाइ सर्वसाधरणमा बिक्री गरिने छ भने बाँकी १ अर्ब २० करोड रुपैयाँ बराबर व्यक्तिगत तवरबाट विभिन्न व्यक्ति तथा संस्थालाई बिक्री गरिने छ। यस्तै बैंकले १० वर्षका लागि अर्को एक ऋणपत्र जारी गर्ने पनि अनुमति पाएको छ। एभरेष्ट बैंक लिमिटेड ऊर्जा ऋणपत्र २०८९ जारी गर्ने स्वीकृति पाएको हो। उक्त ऋणपत्रको वार्षिक ब्याजदर ५.५ प्रतिशत ब्याजदर पाइनेछ ।
बैंकको एभरेष्ट उर्जा ऋणपत्र २०८९ ऋणपत्र पनि २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता रहने छ। उक्त ऋणपत्रमध्ये बैंकले ८० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि र बाँकी रहेको १ अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ।



