काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सको मर्जर पछिको एकिकृत कारोबार साउन १ गतेदखि सुरु हुने भएकाे छ । आषाढ २ गते सम्पन्न दुवै इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभाले एक आपसमा गाभ्ने–गाभिने सम्बन्धी प्रस्ताव पारित गरेका थिए ।
मर्जर पश्चात बन्ने कम्पनीको नाम हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड भएको छ । एकीकृत संस्थाको केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंमा रहने भएकाे छ ।
असार २ गते सम्पन्न दुबै कम्पनीको विशेष साधारण सभाले १ः०.८५ को स्वाप रेसियो कायम हुने गरी मर्जरमा जाने प्रस्ताव पारित गरेको थियो । एभरेष्ट इन्स्योरेन्सको १०० कित्ता शेयर बराबर मर्जर पश्चाथ बन्ने हिमालयन एभरेष्ट इन्स्योरेन्सको ८५ किता शेयर पाउने भएका छन् । हिमालयनको १०० कित्ता शेयर हुनेले भने नयाँ कम्पनीको १०० कित्ता नै शेयर पाउने छन् ।
हाल हिमालयनको चुक्ता पूँजी १ अर्ब १७ करोड रुपैयाँ छ भने एभरेष्टको एक अर्ब २५ करोड रुपैयाँ छ । मर्जर पछि चुक्ता पूँजी २ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।



