काठमाडौं । सार्वजनिक सवारीसाधनमा २० बर्षे आयु तोक्ने निर्णय खारेजी गर्न एकीकृत यातायात मजदुर संगठन , नेपालले माग गरेको छ । २० वर्ष नाघेका सार्वजनिक सवारीसाधन विस्थापित गर्ने नीति अव्यवहारिक भएको भन्दै संगठनले पटकपटक सम्बन्धित निकायलाई लिखित तथा मौखिक अनुरोध गर्दै आएको छ ।
सो विषयमा प्रतिनिधिसभा विकास तथा प्रबिधि समितिमा छलफल समेत भएको छ। सियो समेत आफैं निर्माण गर्न नसक्ने सरकारले सवारीसाधनको २० वर्षे आयु निर्धारण गर्ने कुरा अव्यवहारिक भएको संगठनले जनाएको छ ।
सवारीसाधनको गुणस्तर तथा प्रदुषण परीक्षण गरेर मात्रै विस्थापित गर्ने नीति अघि सार्नुपर्नेमा सरकारले एकाङ्की ढंगले सालोडोलोमा सार्वजनिक नम्बर प्लेटका लाई मात्र २० वर्षे अवधि तोकेकाले धेरै स्वरोजगार यातायात श्रमिकहरू समस्यामा परेका छन् ।
भने नयाँ सवारीसाधन भित्र्याउने नाममा खर्बौ रूपैयाँ बाहिरिदा राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पर्नेछ र हजारौं श्रमिकहरू बेरोजगारी समेत हुने संगठनको भनाइ छ । त्यसैले यो निर्णय पुनर्विचार गरि भेइकल फिट्नेस टेस्टको आधारमा चल्न सक्ने सवारीसाधनलाई चलाउन दिनुपर्छ।
नेपालका करिब ६५ प्रतिशत सार्वजनिक यातायातका सवारीसाधन स्वरोजगार श्रमिकको लगानीमा संचालित रहेकोले यसको संरक्षण राज्यले गर्नुपर्ने एकीकृत ट्रेड युनियन महासंघ , नेपाल आवद्ध एकीकृत यातायात मजदुर संगठन , नेपाल का केन्द्रीय अध्यक्ष रबि केसीले बताएका छन् ।



