काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ ।
नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर पनि त्यसलाई व्यावसायिक उत्पादनमा ध्यान दिन सकेका छैनन् । तर त्यही कटुसको आयातका लागि अमेरिकन डलर खर्च भइरहेको छ ।
व्यावसायिकरूपमा खेती गर्नु नपर्ने, वनजङ्गलमा सजिलै पाइने तथा गाउँघरमा खेर गइरहेको कटुससमेत आयात गरेर नेपालीले परनिर्भरताको उदाहरण पेस गरिरहेका छौँ । एघार महिनाको अवधिमा ७६ किलो कटुस आयात भएको छ । त्यसको मूल्यमात्रै ४९ हजार रुपैयाँ बराबर छ । सानो परिमाण भए पनि यसबाट विदेशी मुद्रा थप विदेशिएको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक बर्षको जेठ मसान्तसम्मको आयात निर्यातसम्बन्धी विवरणानुसार १३ लाख ७४ हजार ७ सय ८६ किलो काजु आयात भएको छ । उक्त परिमाणमा काजु आयात गर्नका लागि १ अर्ब ११ करोड ९२ लाख ७६ हजार रुपैयाँ खर्च भएको छ । त्यसबाट सरकारले ३४ करोड ४७ लाख ३९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।
भारत, भियतनाम, मोजाम्बिक, नाइजेरिया, चिली, अमेरिकालगायत देशबाट नेपालमा काजु आयात हुने गरेको छ । भारतबाट मात्रै ४९ करोड १७ लाख ५९ लाख रुपैयाँ मूल्यमा ५७ लाख ३५ हजार ७८ हजार रुपैयाँ किलो काजु भित्रिएको छ ।
त्यस्तै चालु आर्थिक बर्षको ११ महिना अवधिमा ७९ करोड ७१ लाख ७० हजार मूल्य बराबरमा कूल १२ लाख ४५ हजार ६८१ किलो बदाम (आल्मण्ड) आयात भएको छ । अमेरिकाबाट मात्रै १२ लाख ५ हजार ३ सय २ किलो बदाम ७६ करोड ६८ लाख ८० हजार रुपैयाँ मूल्य बराबरको भित्रिएको छ । अमेरिकामा आलमण्डको ठूलो मात्रामा व्यावसायिक खेती हुने गरेको छ । नेपालको हावापानीमा पनि आमल्ड उत्पादन हुनसक्छ । नेपालीले त्यसतर्फ ध्यान दिन सकेका छैनन् ।
६९ करोड ६० लाखको ओखर आयात
विभागका अनुसार यस अवधिमा ६९ करोड ६० लाख ४९ हजार रुपैयाँ मूल्यमा २२ लाख ७७ हजार ५ सय ३७ किलो ओखर आयात भएको छ । नेपालको भिरपाखामा सहजै रोप्न सकिने ओखरसमेत आयात गरेर खानुपर्ने अवस्थाका कारण नेपालको परनिर्भरता झनै बढेर गएको हो ।
ओखर आयात गर्दा मात्रै मुलुुकले २१ करोड ५२ लाख ८३ हजार रुपैयाँ रकम राजस्व सङ्कलन गरेको छ । छिमेकी मुलुक चीनबाट ओखर सबैभन्दा धेरै भित्रिने गरेको तथ्याङ्क छ । चालु आर्थिक बर्षको ११ महिनामा चीनबाट २० लाख ५६ हजार ६ सय ७९ किलो ओखर ६३ करोड १० लाख ७८ हजार रुपैयाँ मूल्य बराबरको आयात भएको छ । बाँकी परिमाण भने भारतलगायतका अन्य देशबाट आयात भएको छ ।
त्यस्तै ६ करोड ३७ लाख ६१ हजार रुपैयाँ मूल्यमा कूल ६ लाख ९४ हजार २ सय २३ किलो छोकडा आयात भएको छ । जसमा सुकेका छोकडा ४ करोड १३ लाख ७३ हजार रुपैयाँ बराबरका छन् भने ताजा छोकडा २ करोड २३ लाख ८८ हजार रुपैयाँका बराबरका छन् ।
एक अर्बको सुपारी आयात
त्यस्तै चालु आर्थिक बर्षको गएको ११ महिनामा १ अर्ब ७० करोड ८५ लाख ८५ हजार रुपैयाँ मूल्य बराबरको कूल ८४ लाख ५१ हजार ४ सय १५ किलो सुपारी आयात भएको छ । उक्त परिमाणको सुपारी नेपालले इन्डोनेशियाबाट आयात गरेको हो । नेपालले सुपारीको निर्यातसमेत गर्दछ । तेस्रो मुलुकबाट सुपारी आयात गरी मुख्य गरी भारतमा यसको निर्यात हुँदै गरेको देखिन्छ । नेपालले यस अवधिमा ५६ करोड ८७ लाख ७० हजार रुपैयाँ मूल्य बराबरको १४ लाख १० हजार ६ सय ४० किलो सुपारी निर्यात गरेको छ ।
विभागका अनुसार यस्ता अन्य ड्राइफ्रुट्स १ अर्ब ४३ करोड ७१ लाख ८४ हजार रुपैयाँ बराबरको आयात भएको छ । त्यसबाट सरकारले ७३ करोड ६७ लाख १५ हजार रुपैयाँ राजस्वसमेत सङ्कलन गरेको छ । नेपालीले नेपालको भौगोलिक अवस्था तथा हावापानीमा राम्रो उत्पादन हुने जुनेलोसमेत आयात गरिरहेको विवरण छ । नेपालले चालु आवको जेठ मसान्तसम्मको अवधिमा ७ सय ७७ किलो जुनेलो ४० हजार रुपैयाँ मूल्यमा आयात गरेको छ ।
बारीका डिलमा रोप्दा हुने जुनेलो खरिद गर्न विप्रेषणबाट भित्रिएको पैसा खर्च गर्न थालेपछि त्यसले अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने कुरा स्वभाविक नै भएको बताइएको छ ।



