काठमाडौं । भारतले पेट्रोलियम पर्दाथको निर्यातमा कर लगाउने घोषणा गरेपछि नेपाल आयल निगम अन्यौलमा परेको छ । पट्रोल, डिजेल र ग्याँसमा ठुलो नाेक्सानी व्यहाेदै आएको निगम भारतीय पक्षको यो निर्णयसगैँ थप अन्यौलमा देखिएको हो ।
शुक्रबार भारत सरकारले पेट्रोल र हवाई इन्धनमा प्रतिलिटर ६ रुपैयाँ र डिजेलमा प्रतिलिटर १३ रुपैयाँ निर्यात कर लगाउने घोषणा गरेको थियो । यो कर नेपालको सन्दर्भमा लागु हुने हो भने निगमको लागत मुल्य थप बढ्ने छ।
निगमका प्रवक्ता विनितमणि उपाध्याय यसबारे आइओसीले कुनै जानकारी नदिएकोले अहिले केही भन्न सक्ने अवस्था नभएको बताउँछन् । तर मार्चमा भएको सहमति अनुसार कर नलाग्ने विश्वास आफुहरुमा रहेको उनको भनाइ छ ।
नेपाल आयल निगमले आइओसीसँग गत मार्चमा ५ बर्षको लागि पेट्रोलियम खरिद सम्वन्धि सम्झौता गरेको थियो । उक्त सम्झौतामा करबारे कुनै विषय उल्लेख नभएकोले सो कर निगमलाई नलाग्न सक्ने प्रबक्ता उपाध्यायकाे भनाइ छ ।



