images
images

आर्थिक बर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै


  • 311
    SHARES
  • २०७९ आषाढ १६ गते बिहीबार

    आर्थिक बर्ष सकिन १६ दिन बाँकी, पूँजीगत खर्च ४० प्रतिशत मात्रै

    काठमाडौँ । चालु आर्थिक वर्ष सकिन अब १६ दिन बाँकी छ । सरकारले चालु आर्थिक बर्षमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ बजेट विकास निर्माणमा खर्च गर्ने लक्ष्य राखेको थियो । हरेक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्ने सरकारको लक्ष्य थियो । तर, अवस्था भने त्यस्तो छैन ।

    सरकारको दैनिक हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार असार १५ गते बुधबारसम्म विकास निर्माणको काममा कूल विनियोजित बजेटमध्ये ४० प्रतिशत मात्रै खर्च भएको पाइएको छ । कार्यालयका अनुसार कूल १ खर्ब ५१ अर्ब ९ करोड ४ लाख रुपैयाँ मात्रै खर्च भएको छ । यो लक्ष्यको ३९.९६ प्रतिशत बराबर हो । 

    सरकारको कूल खर्च भने ६७.९४ प्रतिशत बराबर भएको छ । कूल १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ बराबर खर्च गर्ने लक्ष्य राखिएकामा हालसम्म ११ खर्ब ९ अर्ब ३७ करोड ३२ लाख रुपैयाँ बराबर खर्च भएको छ । कूल विनियोजनको ६७.९४ प्रतिशत हो ।
     
    सरकारको खर्चमध्ये सबैभन्दा बढी खर्च चालुमा देखिएको छ । १० खर्ब ६५ अर्ब २९ करोढ ३९ लाख रुपैयाँ बराबरको चालु खर्च गर्ने लक्ष्य राखेको सरकारले हालसम्म ८ खर्ब ६६ अर्ब ९० करोड ६० लाख रुपैयाँ अर्थात् ८१.३८ प्रतिशत खर्च गरेको छ ।

    त्यस्तै, वित्तीय व्यवस्थातर्फ कूल १ खर्ब ८९ अर्ब ४३ करोड ७६ लाख रुपैयाँ बराबरको खर्च गर्ने लक्ष्य राखेकामा हालसम्म ९१ अर्ब ३७ करोड ६८ लाख रुपैयाँ अर्थात् ४८.२४ प्रतिशत खर्च भएको छ । सरकारले नियमित रुपमा गर्नुपर्ने ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि यस खालको व्यवस्था गरेको हुन्छ । सरकारको पनि नियमित दायित्व हुन्छ, त्यसलाई भुक्तानीका लागि हरेक वर्ष बजेटमा नै वित्तीय व्यवस्था शीर्षकमा रकम विनियोजन गर्ने गरिएको हुन्छ । यो त भयो खर्चको कुरा । 

    अब सरकारको आम्दानी पनि हेरौँ । कार्यालयका अनुसार असार १५ गतेसम्म कूल ९ खर्ब ७० अर्ब ४५ करोड ६९ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन गरेको छ । यो कूल लक्ष्यको ८२.२ प्रतिशत हो । सरकारले ११ खर्ब ८० अर्ब ६० करोड ४ रुपैयाँ लाख बराबर राजस्व सङ्कलन गर्ने लक्ष्य चालु आर्थिक बर्षका लागि राखेको थियो । 

    त्यसमा कर राजस्वतर्फ ८ खर्ब ९९ अर्ब १५ करोड ५७ लाख रुपैयाँ सङ्कलन भएको छ । यो कूल लक्ष्यको ८४.१९ प्रतिशत हो । चालु आर्थिक बर्षका कर राजस्वतर्फ १० खर्ब ६७ अर्ब ९६ करोड २५ लाख रुपैयाँ लक्ष्य राखेको थियो । यस्तै, अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख रुपैयाँ प्राप्त गर्ने लक्ष्य राखेकामा हालसम्म १३ अर्ब ८८ करोड ३३ लाख रुपैयाँ  अर्थात् २३.१७ प्रतिशत प्राप्त गरेको छ । 

    अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दा चालु आवमा कूल सरकारी खर्च १४ खर्ब ४७ अर्ब ५१ करोड रुपैयाँ  अर्थात ८८.६ प्रतिशत हुने संशोधित अनुमान प्रस्तुत गरेका थिए । 

    कूल सरकारी खर्चमध्ये चालु खर्च ९ खर्ब ७१ अर्ब ८६ करोड रुपैयाँ  अर्थात् ९१.२ प्रतिशत, पुँजीगत खर्च ३ खर्ब ९ करोड रुपैयाँ  अर्थात् ७९.४ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १ खर्ब ७५ अर्ब ५६ करोड रुपैयाँ  अर्थात ९२.७ प्रतिशत खर्च हुने संशोधित अनुमान अर्थमन्त्रीको थियो । 

    कोभिड–१९ महामारीको विषम परिस्थितिका बीच हालसम्मको राजस्व सङ्कलनको अवस्था सन्तोषजनक रहेको छ । चालु आर्थिक वर्षमा राजस्व परिचालन लक्ष्यको हाराहारीमा नै रही ११ खर्ब ५२ अर्ब ४२ करोड रुपैयाँ सङ्कलन हुने अनुमान गरिएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १८ प्रतिशतले बढी हो ।
     
    चालु आर्थिक वर्ष वैदेशिक सहायतातर्फ अनुदान २४ अर्ब ८१ करोड रुपैयाँ  र ऋण १ खर्ब ७२ अर्ब ८८ करोड रुपैयाँ  परिचालन हुने संशोधित अनुमान छ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म १ खर्ब ३५ अर्ब रुपैयाँ  आन्तरिक ऋण उठाइसकिएको छ । चालु आर्थिक वर्षमा २ खर्ब ३१ अर्ब ३० करोड रुपैयाँ  आन्तरिक ऋण परिचालन हुने अवस्था रहेको अर्थमन्त्रीको भनाइ छ ।


    images
    images

    Logo