काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई आफुमा गाभ्न नबिल बैंकलाई अन्तिम स्वीकृति दिएको छ । बुधबार बिहान बसेको राष्ट्र बैंक सञ्चालक समितिको बैठकले बंगलादेश बैंकलाई नबिलमा गाभ्नको लागि अन्तिम स्वीकृति दिने निर्णय गरेको हो ।
नबिल तथा बंगलादेश बैंकले औपचारिक पत्र बुधबार साँझसम्ममा पाउने जानकारी दिएका छन् । दुवै बैंकले राष्ट्र बैंकबाट पत्र आए पछि एकीकृत कारोबारको प्रकृया अघि बढाउने बताएका छन् । असार मसान्त भित्रै एकीकृत कारोबार सुरु गर्ने गरी काम अघि बढाउने बैंकहरुले बताएका छन् ।
नबिल बैंकले एनबी बैंकलाई १००ः ४३ स्वाप अनुपातमा गाभ्न लागेको हो । यो भनेको एनबी बैंकको १०० कित्ता बराबरको सेयर नबिलमा गाभिएपछि ४३ कित्ता हुने छ । नबिलले एनबीलाई गाभेपछि बैंकको चुक्तापुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुग्नेछ ।
यसका साथै राष्ट्र बैंकबाट अन्तिम स्वीकृतिको पत्र पाए लगत्तै नबिल बैंकले ढुङ्गानालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएको पत्र भएका छन् । असार १७ गते शुक्रबारदेखि लागू हुने गरी ढुङ्गानाले नबिलमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् ।



