काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डका १७ ठाउँ पहिरोको हिसाबले उच्च जोखिममा देखिएको छ । यस वर्षको वर्षातसँगै ती मध्ये सात ठाउँमा साना ठूला पहिरो खसिसकेका छन् । डिभिजन सडक कार्यालय भरतपुरका ई सागर कार्कीका अनुसार चार किलो, नाम्सी पुल, तीन नम्बर पुल, २६ किलो, २० किलो, १५ किलो, जुगेडी बजार नजिकैको कविलास जाने बाटो उच्च जोखिममा देखिएका छन् ।
ती ठाउँमा यसवर्ष पहिरो खसेर दुःख दिइरहेका छन् । तीमध्ये नारायणगढबाट ३१ किलोमिटर मुग्लिन तर्फ नाम्सी पुलमा धेरै समस्या आएको छ । त्यहाँ पुल निर्माण गर्दा काटिएको भित्तोबाट पहिरो खसेर समस्या आएको कार्कीले जानकारी दिए। त्यसका अतिरिक्त सेती दोभान, कालिखोला, सिमलताल लगायतका १० ठाउँ जोखिममा रहेका छन् । ती १७ ठाउँमा गत वर्ष पहिरो खसेको थियो ।
कतिपय ठाउँमा सुख्खा पहिरो समेत खसेर दुःख दिएको कार्की बताउछन् । राजधानी प्रवेश र बाहिरिने यो मुख्य सडकमा एक दिनमा १० हजार बढी सवारीसाधन आवागमन गर्ने गर्दछन् । सडक पुनःनिर्माणको काम सकिए पनि सडक माथिका पहिरो जोखिम क्षेत्रको व्यवस्थापन हुन नसक्दा पहिरोको जोखिम कायमै रहेको हो । डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी शिव खनालले सडक विस्तार र पुलःनिर्माणको काम एकै पटक नहुँदा समस्या भएको बताए ।



