काठमाडौं । एक करोड जरिवाना गरिएका विनोद घिसिङ पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले ४३ वर्षीय घिसिङलाई आज बिहान काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।
उच्च अदालत पाटनबाट १ करोड २ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेपछि उनी फरार भएका थिए ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनले बैंकिङ कसुर मुद्दामा उक्त रकम तथा २१ दिन कैद सजाया ठहर गरेपछि फरार घिसिङलाई आज जोरपाटीबाट पक्राउ गरिएको जानकारी दिए।
घिसिङले आफ्नो मेघा बैंक लिमिटेड बौद्ध शाखाको खातामा पर्याप्त रकम नभएको जानी–जानी पीडितलाई झुक्याएर ठगी गरेपछि अदालतले उक्त फैसला गरेको हो । घिसिङलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौँमा पेश गरिएको प्रवक्ता महतोले बताए ।



