काठमाडौं । आइतबार एकीकृत समाजवादीका ४ मन्त्रीहरु हेरफेर भए । सो पार्टीबाट प्रतिनिधित्व गर्ने पर्यटनमन्त्री प्रेम आले, शहरी विकासमन्त्री रामकुमारी झाँक्री, स्वास्थ्यमन्त्री विरोध खतिवडा र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले राजीनामा दिएसँगै नयाँ मन्त्री नियुक्त गरिएको हो ।
अब पर्यटन मन्त्रालयमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रालयमा मेटमणि चौधरी, स्वास्थ्य मन्त्रालयमा भवानी खापुङ र श्रम मन्त्रालयमा शेरबहादुर कुँवर मन्त्री भएका छन् ।
लामो समयदेखि एकीकृत समाजवादीमा देखिँदै आएको मन्त्री परिवर्तनको किचलो योसँगै साम्य भएको छ । तर, एकीकृत समाजवादीका मन्त्रीहरुले बुझाएको राजीनामा भने अझै पनि प्रधानमन्त्रीकहाँ पुगेको छैन ।
नेपालको प्रधानमन्त्रीय प्रणाली ‘वेस्ट मिनिष्टर’ सिस्टममा आधारित हुन्छ । यहाँ मन्त्रीहरु प्रधानमन्त्रीप्रति र प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुन्छन् । तर, प्रधानमन्त्रीप्रति उत्तरदायी हुनुपर्ने मन्त्रीहरुले राजीनामा चाहिँ किन पार्टी अध्यक्षलाई बुझाए त ?
नेपालको संविधानले मन्त्रीहरु फेर्न राष्ट्रपतिलाई सिफारिस गर्ने स्वविवेकीय अधिकार दिएको छ । प्रधानमन्त्रीले कुनै जानकारी दिएर वा जानकारीबिना नै मन्त्रीमण्डल पुजर्गठन गर्न सक्छन् । यसमा कुनै उजुरबाजुर समेत लाग्दैन ।
संवैधानिक नियुक्तिका हकमा भने सम्बन्धित व्यक्तिले राजीनामा दिएर स्वीकृत भएपछि मात्रै अर्को नियुक्ति प्रक्रिया अघि बढ्छ । मन्त्रीका हकमा यस्तो नहुने भएकोले उनीहरुले पार्टी अध्यक्षलाई राजीनामा बुझाएका हौं ।
शहरी विकासमन्त्रीबाट बिदा हुँदैगर्दा रामकुमारी झाँक्रीले यसबारे प्रष्ट पार्ने प्रयास गरिन् । ‘हामीले राजीनामा दिनै पर्दैन, कसलाई राख्ने र कसलाई हटाउने प्रधानमन्त्रीको स्वविवेकीय अधिकार हो । हामीलाई फौजदारी मुद्दा लागेको पनि होइन, त्यसैले हामीले राजीनामा दिइराख्नु पर्दैन,’ झाँक्रीले भनिन् ।



