काठमाडौं । भौगोलिक रुपमा देशकै सबैभन्दा ठूलो पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि रु ८ अर्ब ७७ करोड ७५ लाख ५५ हजार बजेट ल्याएको छ ।
महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले आज साँझ महागनगरको ११ नगरसभामा पर्यटन प्रवद्र्धन, हरित, उत्थानशील र दिगो पूर्वाधार विकास, वातावरण संरक्षण तथा फोहोमैला व्यवस्थापन, संस्थागत विकास र सुशासन र स्वरोजगार, उद्यमशीलता तथा व्यावसायिक कृषि प्रणालीको प्रवद्र्धनलाई प्राथमिकता दिएर आगामी वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
चालू आर्थिक वर्षका लागि महानगरले ६ अर्ब ४१ करोड १० लाख बजेट विनियोजन गरेकामा आगामी वर्षमा २ अर्ब ३६ करोड ६५ लाख ५५ हजार रुपैयाँ बजेट वृद्धि भएको छ ।
बजेटका उद्देश्य तथा प्राथमिकताहरू पूरा गर्न प्रस्तावित कार्यक्रमका लागि विनियोजन गरिएको बजेटको स्रोत सङ्घीय सरकार अनुदान २ अर्ब ५८ करोड ८६ लाख, प्रदेश सरकार अनुदान ११ करोड २८ लाख, आन्तरिक आम्दानी ३ अर्ब १ करोड रहेको उपप्रमुख गुरुङले बताए ।
यसैगरी सङ्घीय राजश्व बाँडफाँटबाट ३७ करोड ३७ लाख रुपैयाँ, प्रदेश राजश्व बाँडफाँट १ करोड ४२ लाख ५२ हजार र न्यून हुन जाने २ अर्ब ४० करोड ८१ लाख बजेट चालू आर्थिक बर्षको अन्त्यमा बचत हुने मौज्दातबाट व्यहोरिने बताइन्छ ।
बजेटमा पूर्वाधार विकासतर्फ ४ अर्ब ५३ करोड ६२ लाख रुपैयाँ, नगर कार्यपालिका कार्यालयतर्फ १ अर्ब २५ करोड ८७ लाख रुपैयाँ, सामाजिक विकासमा २ अर्ब ६ करोड ९२ लाख, शिक्षामा १ अर्ब ४९ करोड ३६ लाख, स्वास्थ्यतर्फ ५० करोड ५ लाख रुपैयाँ, कृषितर्फ १६ करोड ७३ लाख ६५ हजार रुपैयाँ र वडा कार्यालयतर्फ ७२ करोड ६० लाख रुपैयाँ छुट्याइएको उपप्रमुख गुरुङले बताए ।
महानगरले पोखरा गौरवका आयोजना कार्यान्वयनका लागि ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । पर्यटकीय पोखरालाई सुन्दर र पूर्वाधारयुक्त विकसित पर्यटनस्थलमा विकास गर्न मुख्यमुख्य स्थान र लेकसाइडको सौन्दर्यकरण, सुविधा सहितको ल्यान्डफिल साइट निर्माण, अटो भिलेज, पोखरा चक्रपथ, एयरपोर्टदेखि लेकसाइड फास्टट्र्याक, ट्राफिक व्यवस्थापन, पेवा हर्वल ट्रेक, ढल व्यवस्थापन लगायतका योजनालाई पोखरा गौरवका योजनामा राखेको छ ।
महानगर अन्तर्गतका सबै स्वास्थ्य संस्थाहरुबाट निःशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गर्नका लागि १२ करोड ८८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताउनुभयो । यसैगरी चालू वर्ष निर्माण सुरु भएका विभिन्न १५ वटा कनेक्टिङ सडक, १० वटा सहरी सडक तथा १५ वटा ग्रामीण सडकलाई क्रमागत र वहुवर्षीय योजनामा समावेश गरी ५५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
महागनरको सहरी क्षेत्रभित्र खाल्डारहित सडक बनाउने अभियानअन्तर्गत मुख्य सडकहरु अस्फाल्ट र शाखा सहरी सडक एवं कालोपत्र भएका सडकहरुको रिसिलिङका लागि १५ करोड रुपैयाँ रकम व्यवस्था गरिएको छ ।
यसैगरी तालचोक बेगनास खण्डको तीन किमी सडक चार लेन, दुईतर्फी साइकल लेन र हरियाली जोेन सहितको पैदल ट्र्याक निर्माण आयोजनाका लागि ३० करोड बजेट विनियोजन गरिएको उपप्रमुख गुरुङले बताए ।
विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्न पेट्रोल पम्प र आवश्यक स्थानहरुमा विद्युतीय चार्जिङ केन्द्रहरु निजी क्षेत्र समेतको सहकार्यमा स्थापना गर्न ७ करोड बजेट व्यवस्था गरिएको छ ।
महानगर क्षेत्र भित्रका नदीघाटहरुको संरक्षण, संवद्र्धन र नदी नियन्त्रण कार्यक्रमका लागि २ करोड बजेट विनियोजन गरिएको छ । महानगरमा आकस्मिक सेवा व्यवस्थापनका लागि ५ करोड रुपैयाँ छुट्याइएको छ ।
यसैगरी महानगरका सबै वडाहरुमा एक वडा, एक स्मार्ट शौचालय बनाउने नीति कार्यान्वयनका लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको उपप्रमुख गुरुङले बताए । यसअघि पोखरा सभागृहमा साँझ ४ बजे बजेट कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहे पनि सभा सुरु भएलगत्तै सभामा बजेट प्रस्तुत नहुँदै रातो किताब छापिएको भन्दै एमालेबाट निर्वाचित सदस्यहरुले विरोध गरेपछि स्थगन भएको थियो ।
रातो किताबका सम्बन्धमा छानबिन गर्ने सहमतिपछि साँझ ७ बजे सभा पुनः सुरु भएर उपप्रमुख गुरुङले बजेट कार्यक्रम प्रस्तुत गरेका हुन् ।



