काठमाडौं । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आईसीयू बेडको निर्माणका लागि भएको खरिदमा गैरकानूनी भएको भन्ने विषयको खण्डन गरेको छ । बुधबार विज्ञप्ती जारी गर्दै प्रतिष्ठानले सर्वोच्च अदालतको आदेश र स्थानीय जनताको माग र आवश्यकताका आधारमा सो खरिद प्रक्रिया अघि बढाइएको उल्लेख गरेको हो ।
बिरामीको बढ्दो चाप सम्बोधन गर्न प्रतिष्ठानमा थप २० वेडको आईसीयू कक्ष निर्माण अघि बढेको थियो । त्यसका लागि प्रतिष्ठानले आवश्यक सामानको आपूर्तिको जिम्मा एमबी मेडिटेक प्रा.लि. लाई दिएको थियो ।
तर, खरिद प्रक्रियामा त्रुटी औल्याउँदै सार्वजनिक खरिद पुनरावलोन आयोगले उक्त सम्झौता रद्द गरिदिएको थियो । कार्यालयको उक्त निर्णय विरुद्ध एमबी मेडिटेक सर्वोच्च गयो । सर्वोच्चले पौष ३० गते ठेक्का रद्द गर्ने प्रक्रिया रोक्न अन्तरकालीन अन्तरिम आदेश दिएपछि प्रतिष्ठानले खरिद प्रक्रियालाई अघि बढाएको थियो । तर, उक्त प्रक्रिया गैरकानूनी भएको भन्दै मिडियामा समाचार आएपछि प्रतिष्ठानले यस्तो प्रष्टोक्ति दिएको हो ।
प्रतिष्ठानले बाहिरबाट आईसीयूमा भर्ना गर्नुपर्ने बिरामीहरु अन्य अस्पतालबाट रेफर भएर समेत प्रतिष्ठानकै अस्पतालमा आउने र प्रतिष्ठानमा पनि बिरामीको चाप धेरै भएकोले सबैलाई स्वास्थ्य सेवा उपलब्ध गराउने पवित्र उद्देश्यले निर्माण कार्य सुचारु गरिएको समेत उल्लेख गरेको छ ।
साथै, प्रतिष्ठान सदैव देशको न्यायिक निकायको निर्देशन एवं आदेशको उच्च सम्मान गर्दै प्रचलित कानून बमोजिम काम कारबाही गर्दै आएको र भविष्यमा समेत सोही कमोजिम नै अघि बढ्ने प्रतिवद्धता समेत जनाएको छ ।



