भक्तपुर । भक्तपुरको चाँगुनारायण अस्पतालनै पहिरोको जोखिममा परेको छ । वर्षातसंगै अस्पताल नजिकैको भिरालो क्षेत्रको माटो खस्न थालेपछि चांगुनारायण नगरपालिकाद्धारा संचालितअस्पताल नै पहिरोको जोखिममा परेको हो ।
अस्पतालको नयाँ भवन बनाउँने क्रममा डोजर प्रयोग गरेका कारण अस्पतालको उत्तरपट्टीको भिरालो जमिन भासिएको स्थानीयको आरोप छ । पाखा भासिएर जमिन बग्न थालेपछि अस्पतालले रेडक्रसको समन्वयमा भू–क्षय नियन्त्रणका लागि अस्थायी रुपमा जमिन प्लाष्टिक ले छोपेर राखेको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ मा उक्त क्षेत्रको भू–क्षय नियन्त्रण तथा टेको पर्खालका लागि १२ लाख रुपैया बिनियोजन भएकोमा हालसम्म नियन्त्रणको प्रयास भएको छैन । चाँगुनारायण–४ हुचिढुङ्गास्थित १५ शैयाको अस्पताल आर्थिक वर्ष ७७/७८ बाट संचालनमा आएको हो ।
२०४० सालमा स्थापित प्राथमिक स्वास्थ्य केन्द्रलाई चाँगुनारायण नगरपालिकाले अस्पतालका रुपमा रुपान्तरण गरेको हो । करिब ५ रोपनी क्षेत्रफल रहेको सो स्थानमा शहरी विकास तथाभवननिर्माण विभागले २०६८ मा अस्पताल भवननिर्माण थालनी गरेपनि२०७७ मा मात्र सम्पन्नभएको थियो ।
२०७७ मंसीर २७ देखि सेवा सुरु गरेको अस्पतालले २४ सै घण्टा प्रसुती सेवा, आकस्मिक सेवा, नाक/कान/घाँटी रोग, आँखा, ओपिडीलगायतका सेवा दिंदै आएको छ । अस्पतालमा स्वास्थ्यबिमा, सामान्य परिक्षण सेवा, अस्पतालको आफ्नै फार्मेसी र एम्बुलेन्स सेवासमेत संचालन गरिएको छ ।
अस्पतालको आफ्नै एम्बुलेन्स सेवा संचालित छ । अस्पतालका अनुसार, प्रसुतीका लागि आउने महिलाका लागि एम्बुलेन्स सेवानिःशुल्क गरिएको छ । हालसम्म त्यस्तो सेवा४४ महिलाले लिइसकेको जनाइएको छ ।
अस्पताल संचालनका लागि७३ कर्मचारी आवश्यक पर्ने भएपनि २३ कर्मचारीका भरमा चलाउनु पर्दा समस्या भएको एक कर्मचारीले बताए । नगरपालिकाका उप प्रमुख रमेश बुढाथोकी पहिरोको अस्थायी रोकथामका लागि प्लाष्टिक लाएको स्वीकार्दै छिटै नियन्त्रणको प्रयास थालिने बताउँछन् ।



