काठमाडौं । एनएनसीसीआईमा वैदेशिक लगानी हेल्प डेक्सको स्थापना हुने भएको छ । यसका लागि आन्तरिक तथा बाह्य लगानी प्रबद्धनको लागि महासंघ र लगानीबोर्डबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । अर्थमन्त्री जनार्दन शर्माको समुपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र वोर्डका प्रमुख कार्यकारि अधिकृत सुशिल भट्टले हस्ताक्षर गरेका हुन् ।
सहमति अनुसार महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सहायता कक्ष समेत स्थापना गरिने छ । सहायता कक्षको संचालनमा वोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, शीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग हुनेछ ।
महासंघले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तराष्ट्रिय रुपमा आफ्नो माध्यम मार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा वोर्डलाई सक्रियतापूर्वक सहयोग गर्नेछ । त्यसैगरी महासंघले स्वदेश तथा विदेशमा लगानी सम्बन्धी सडक प्रदर्शनका महत्वपूर्ण गतिविधिको आयोजनामा सहयोग गर्नेछ ।
त्यसैगरी लगानी प्रवद्र्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुभव एवं सूचनाको आदान प्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् भने एफडीआई तथा लगानी प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा आयोजना हुने सभा, सम्मेलन, प्रर्दशनी, गोष्ठी, कार्यशाला, तालीम र यस्तै प्रकारका अन्य गतिविधिहरुको आयोजनामा महासंघले वोर्डलाई प्रत्यक्ष सहयोग पुर्याउने छ ।
महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन समितिले लगानी प्रवद्र्धनका लागी तयार गर्ने सवै दस्तावेजहरुमा वोर्डले पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले लगानी सम्बन्धी तथ्याक, प्रतिवेदन, संयुक्त रुपमा तयार पारिएका प्रतिवेदनहरु, वाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसरहरु र सार्वजनिक निजी साझेदारीमा लगानी सम्बन्धी नीति पैरवी लगायतमा सहयोग, सहकार्य, आदान प्रदान गर्नेछन् । त्यसैगरी दुवै संस्थाले सवै प्रकारका लगानी, परियोजना विकास लगायतमा संयुक्त रुपमा अध्ययन अनुसन्धानमा समेत सहकार्य गर्नेछन् ।
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथि एवं बोर्डका उपाक्ष्यक्ष अर्थमन्त्री जनार्दन शर्माले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनका लागि वोर्ड र महासंघ बीचको समझदारी एउटा अनुपम उदाहरण भएको र समझदारीमा उल्लेख गरिएका सहमतीका दफाहरुलाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए । सरकारले आन्तरिक एवं वाह्य सवै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको वताउदै लगानी गर्न आउनेलाई प्रतिफलको पनि स्पष्ट खाका दिनुसक्नु पर्ने सुझाव दिएका हुन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनमा समझदारी कोशेढुंगा हुने विश्वास व्यक्त गर्नुका साथै समझदारीले लगानी वोर्डसंग लगानी प्रवद्र्धनमा सहकार्य गर्ने ढोका खुलेको बताउका छन् ।
हस्ताक्षर कार्यक्रममा लगानी वोर्डका सदस्य एवं महासंघका निवर्तमान अध्यक्ष भवानी राणा र वोर्डका सहसचिव भगवान अर्यालले वोर्ड उपस्थिती रहेको साथै महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, महासंघको अन्तराष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्द वगाडिया, कार्यकारिणी समितिका सदस्यहरु, महासंघ र लगानी वोर्डका वरिष्ठ अधिकारीहरुको उपस्थिति थियो ।



