images
images

नागरिक उड्डयन प्राधिकरणको सेवा शुल्क वापतको बक्यौता तिर्न पत्राचार


  • 388
    SHARES
  • २०७८ चैत्र ८ गते मंगलबार

    नागरिक उड्डयन प्राधिकरणको सेवा शुल्क वापतको बक्यौता तिर्न पत्राचार

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र अन्तर्गतका विभिन्न नागरिक उड्डयन कार्यालयलाई सेवा शुल्क वापतको बक्यौता रकम तत्काल तिर्न ८ वटा वायुसेवा कम्पनीलाई प्राधिकरणले पत्राचार गरेको छ । 

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नागरिक उड्डयन प्राधिकरणको सेवा शुल्क वापतको बक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीलाई तत्काल बक्यौता रकम बुझाउन पत्राचार गर्न आदेश दिएसँगै प्राधिकरणले नेकोन एयर, शिवानी, गोरखा, माउण्टेन, कस्मिक, स्काइलाइन एयरवेज, एयर काष्ठमाण्डपका नाममा प्राधिकरणले बक्यौता तिर्न सूचना जारी गरेको हो ।

    मन्त्री आलेको निर्देशनपछि प्राधिकरणले एक सूचना जारी गरी एक साताभित्र बक्यौता नतिरे सञ्चालकको बैंक खाता रोक्का र पासपोर्ट सिज गर्ने जनाएको छ । लामो समयदेखि बक्यौता तिर्न  २०७६ साल,  २०७७ साल तथा  २०७८ साल मा गरी ३ पटक सूचना जारी गर्दा पनि ती कम्पनीका प्रतिनिधिहरु नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को सम्पर्कमा नआएपछि बक्यौता तिर्नका लागि सूचना जारी गरिएको प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । 

    उनका अनुसार अबको एक सातामा सम्पर्कमा नआउने कम्पनीलाई प्राधिकरणले बैंक खाता रोक्कासँगै सञ्चालकको राहदानी रोक्काको सूचना जारी गर्ने छ ।

    प्राधिकरणका अनुसार नेकोन एयरको अध्यक्ष तथा प्रबन्ध सञ्चालकमा दीपमणी राजभण्डारी, उपाध्यक्षमा मुकुन्दभक्त श्रेष्ठ, सञ्चालकमा दीपकराज कोइराला, रवीन्द्र श्रेष्ठ र रविचन्द्रमान श्रेष्ठ छन् । नेकोनको  ४ करोड ७२ लाख बक्यौता छ । शिवानी एयरको सञ्चालकमा मणिन्द्रलाल रञ्जितकार रहेका छन् । उक्त कम्पनीको ५५ लाख ५१ हजार रुपैयाँ बक्यौता रहेको छ । 

    गोरखा एयरमा प्रज्वल श्रेष्ठ, डा उज्ज्वल श्रेष्ठ, गिन्नीबाबा श्रेष्ठ र सूर्यप्रसाद श्रेष्ठ सञ्चालक रहनुभएको छ । गोरखाको २० लाख ३५ हजार रुपैयाँ बक्यौता रहेको छ । माउण्टेन एयरको सञ्चालकमा सिद्धिदा राणा र शिवेन्द्रबहादुर बस्नेत सञ्चालक रहेका छन् ।  माउण्टेनको ६ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ । 
     
    कस्मिक एयरको ३ करोड ४७ लाख रुपैयाँ बक्यौता रहेको बताइएको छ । यसैगरी स्काइलाइन एयरवेजमा कार्यकारी अध्यक्ष आङछिरिङ शेर्पा, उपाध्यक्षमा मिङमा दोर्जे शेर्पा, सञ्चालक पेम्वाछिरिङ शेर्पा, प्रबन्ध सञ्चालकमा तेन्जिङ नोर्बु शेर्पा, सञ्चालकमा यादव खरेल, विक्रम पाण्डे, केदारबहादुर प्रधानाङ्ग र उत्तमकृष्ण खरेल रहेका छन् । 

    उक्त कम्पनीको  ७ लाख ८० हजार रुपैयाँ बक्यौता रहेको छ । एयर काष्ठमण्डपको सञ्चालकमा प्रज्वल श्रेष्ठ, उज्ज्वल श्रेष्ठ र कतारी नागरिक हमाद अली जावोर रहेका छन् भने उक्त कम्पनीको  ७ लाख ३८ हजार रपैयाँ बक्यौता तिर्न बाँकी रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।


    images
    images

    Logo