काठमाडौं । भक्तपुर जिल्ला ब्याडमिन्टन संघको आयोजनामा प्रथम राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता हुँदैछ । बुधबारदेखि सुरु हुने उक्त कार्यक्रम ६ विधामा हुने भएको छ ।
भक्तपुर नगरपालिकाको लिवालिस्थित कर्भड हलमा हुने उक्त खेलमा मंगलबारसम्म ७ वटै प्रदेशका ५५ जिल्लाका २ सय २३ जनाले नाम दर्ता गरेका छन् । प्रतियोगिता आयोजक समितिका संयाेजक नवीन प्रजापतिका अनुसार जिल्लामा पहिलाे पटक आयोजना हुन लागेको प्रतियोगितामा एकल र युगलमा १ सय ७९ आवेदन परेका छन् ।
सो खेलमा प्रथम हुने पन्ध्र वर्ष मुनिका महिला र १५ वर्ष मुनिका पुरुष लाई १५ हजार दोस्रो हुनेलाई १० हजार र तेस्रो हुनेलाई ७ हजार ५ सय रुपैयाँ पुरस्कार दिइने संघले जनाएको छ । त्यस्तै, पुरुष एकल र महिला एकललाई क्रमशः पहिलो हुनेले ३५ हजार दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १२ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने प्रजापतिले बताए ।
त्यसैगरी भेट्रान डबल (४५ वर्ष माथि) का र पुरुष डबललाई पहिलो हुनेलाई ३० हजार दोस्रो हुनेलाई १५ हजार र तेस्रो हुनेलाई ७ हजार ५ सय नगद पुरस्कारको व्यवस्था गरिएको छ । सो खेलमा कुल १६ लाख ८६ हजार रुपैयाँ खर्च हुने अनुमान आयोजकले गरेको छ । प्रतियोगिताको सम्पुर्ण तयारी पूरा भएको प्रजापतिले बताए ।



