काठमाडौं । बक्यौता नतिर्ने ७ वायु सेवा कम्पनीलाइ नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले कारबाहिको चेतावनी दिएको छ । क्यानले आइतबार सुचना जारी गर्दै ७ दिन भित्र बक्यौता तिर्न नआए कारबाही हुने चेतावनी दिएको छ ।
यसरी बक्यौता नतिर्नेमा नेकोन एयर, शिवानी एयर, गोरखा एयर, माउण्टेन एयर, कस्मिक एयर, स्काईलाईन एयरवेज र एयर काष्ठमण्डप कम्पनी रहेका छन् । उक्त कम्पनीलाई क्यानले ७ दिन भित्र बक्यौता नतिरे कालोसुचीमा राखेर कारबाही गर्ने चेतावनी दिएको छ । यी कम्पनीहरुले क्यानलाई ९ करोड १७ लाख रुपैयाँ बक्यौता बुझाउनु पर्नेछ ।
क्यानले यसभन्दा अघि ३ पटकसम्म बक्यौता तिर्न भनेर सुचना गरिसकेको थियो । यस पटक भने अन्तिम पटक सुचना जारी गरेको क्यानले जनाएको छ । क्यानका अनुसार नेकोनका सञ्चालकहरु दीपमणी राजभण्डारी, मुकुन्दभक्त श्रेष्ठ, दीपकराज कोइराला, रविन्द्र श्रेष्ठ, मृगेन्द्र जोशी र रविचन्द्रमान जोशीले ४ करोड ७२ लाख, २५ हजार रुपैयाँ बुझाउन बाँकी रहेकाे छ ।
त्यस्तै, शिवानी एयरका सञ्चालक मणिन्द्रलाल रञ्जितकारले ५५ लाख ५१ हजार रुपैयाँ र गोरखा एयरका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, डा, उज्वल श्रेष्ठ, गिन्नी बाबा श्रेष्ठ, सूर्यप्रसाद श्रेष्ठले २० लाख ३५ हजार रुपैयाँ बुझाउन बाँकी रहेकाे छ ।
त्यस्तै, स्काइलाइन एयरवेजका सञ्चालकहरु आंग छिरिङ शेर्पा, मिङमा दोर्जे शेर्पा, पेम्बा छिरिङ शेर्पा, तेञ्जिङ नोर्बु शेर्पा, यादब खरेल, बिक्रम पाँडे, केदारबहादुर प्रधानांग, उत्तम कृष्ण खरेलले ७ लाख ८० हजार रुपैयाँ बुझाउन बाँकी रहेकाे छ ।
त्यसैगरी एयर काष्ठमण्डपका सञ्चालकहरु प्रज्वल श्रेष्ठ, उज्लव श्रेष्ठ र हमाद अली जावोर (कतार)ले गरी ७ लाख ३८ हजार रुपैयाँ बुझाउन बाँकी रहेकाे छ ।
क्यानले ती ७ कम्पनीबरुलाई रकम बुझाउनु नपर्ने भएमा प्रमाणसहित उपस्थित हुन पनि भनेको छ ।



