images
images

यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ९ जना विरुद्ध मुद्दा दायर


  • 528
    SHARES
  • २०७८ चैत्र ४ गते शुक्रबार

    यातायात व्यवस्था कार्यालयका प्रमुखसहित ९ जना विरुद्ध मुद्दा दायर

    काठमाडौं । यातायात व्यवस्था कार्यालय पोखरामा तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर भएकाे छ । चालक अनुमतिपत्रको परीक्षामा पास नभएकासमेतलाई मिलेमतोमा पास गराएको खुलेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज मुद्दा दायर गरेको हो । 

    यातायात व्यवस्था कार्यालय पोखराका तत्कालीन कार्यालय प्रमुख गोकुल शर्मा पौडेल र यातायात व्यवसाय कार्यालय सवारी चालक अनुमतिपत्र कास्कीले २०७५ मङ्सिर, २०७६ कात्तिक र मङ्सिरमा सञ्चालन गरिएको परीक्षामा पास नभएकासमेतलाई पास गराएको पाइएको छ । 

    चालक अनुमतिपत्रको परीक्षामा अनुपस्थितलाई उतिर्ण  गर्ने र उतिर्ण  भएकालाई उतिर्ण  गराएको पाइएको आयोगको ठहर छ । प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्ने कार्यमा पोखरामा कार्यारत निमित्त कार्यालय प्रमुख शाखा अधिकृत पौडेलले अनियमितता गरेको पाइएको छ । 

    यस्तै,  यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र कास्की, गण्डकी प्रदेश पोखरामा कार्यरत तत्कालीन शाखा अधिकृत हरिप्रसाद गौतम, यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र शाखाका कार्यरत अधिकृतस्तर आठौं भरतराज काफ्ले, अधिकृतस्तर सातौँ प्रेमप्रसाद श्रेष्ठ अधिकृत छैठौँ डिल्लीराम बराल, कम्प्युटर अधिकृत छैठौँ होमनाथ शर्मा, कम्प्युटर अपरेटर करार झलक पौडेल र मोहनमणि बराल र अधिकृत आठौँ भरतमणि बराल विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । 

    विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा अनुत्र्तीण भएका अनुपस्थित भएका १ सय ६८ परीक्षार्थीको नतिजा फेरबदल गरेको पाइएको छ । सो परीक्षामा मात्रै दुई जना पास भएकालाई नभएको बनाइएको थियो । परीक्षामा खटिने निरीक्षकको हस्ताक्षरसहित पेश गरेको नतिजा सूची उपलब्ध गराई सोही आधारमा निर्णय गर्नुपर्नेमा अनुत्र्तीण र परीक्षामा अनुपस्थितसमेतलाई उत्र्तीण गराएको पाइएको अनुसन्धानबाट खुलेको छ । 

    आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आरोपी सबैलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर गरेको देखिएकाले सोहीअनुसार अधिकतम सजायको माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो । 


    images
    images

    Logo