काठमाडौं । विश्वकै दोस्रो तथा एशियाको पहिलो भनिएको ‘कृषिकर्जा मेला’ नेपालमा आयोजना हुने भएको छ । यही चैत ९ गतेदेखि १२ गतेसम्म चितवनको एक्स्पो सेन्टर भरतपुरमा सो मेला हुन लागेको हो ।
यो मेलालाई आर एण्ड डी इनोभेटिभ सोलुसन प्रा.लि. र नेपाल कृषि मेशिनरी व्यवसायी संघले संयुक्त रुपमा आयोजना गरेको छ । मेलाको मुख्य प्रायोजक नबिल बैंक र कृषि विकास बैंक रहेका छन् ।
सोही मितिमा र सोही स्थानमा ५औं राष्ट्रिय कृषियान्त्रीकरण प्रदर्शनी–२०७८ पनि आयोजना गरिएको छ । सो प्रदर्शनीको आयाजना नेपाल कृषि मेशिनरी व्यवसायी संघले गरेको छ । प्रदर्शनीमै कृषिकर्जा मेलाको पनि आयोजना गरिएको छ ।
विगत तीन वर्षमा करिब ५८ हजार जनाले मात्रै कृषि कर्जा लिन सकेको तथ्याङ्क छ । धितोको अनिवार्यता, झण्झटिलो प्रकृया, उच्च दरको ब्याज र सेवा शुल्क आदि कारणले पनि कृषकहरु बैंकसँग कृषि कर्जाको पहुँचमा पुग्न सकेका छैनन् । यो अवस्थामा आयोजना हुने कृषि कर्जा मेलाले कृषक र सरोकारवालालाई सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ ।



