काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागु पुर्णिमा (होली) को नाममा हुने जथाभाबी क्रियाकलापमाथि प्रतिबन्ध लगाएको छ । बुधबार एक सूचना जारी गर्दै प्रशासनले सो दिन निषेध गरिएका कामहरु गरे वा गराए कानुन बमेजिम कडा कारबाही हुने समेत जनाएको छ ।
प्रशासनले विगत केही वर्षदेखि देखा परेको कोरोना माहामारी अझै पनि कायमै रहेकाले स्वास्थ्य सतर्कता अपनाई सरकारले तोकेको मापदण्ड पुरा गरि होली पर्व मनाउन सबैलाई अनुरोध गरेको छ । साथै पर्वको नाउँमा कसैलाई पनि अवाञ्छित कार्य नगर्न पनि अनुरोध गरेको छ ।
होली पर्वको नाउँमा निषेधित काम जस्तैः कसैको इच्छा विपरित रङ्ग, लोला तथा पानी छ्याप्ने, इच्छा विपरित कसैलाई मादक पदार्थ तथा नसालु पदार्थ खुवाउने साथै मादक पदार्थ सेवन गरि सवारी साधन चलाउने, सार्वजनिक ठाँउमा होहल्ला गर्ने र कसैको निजी जीवनमा असर पर्ने कार्य नगर्न पनि प्रशासनले सुचना मार्फत अनुरोध गरेको छ । साथै यस्ता गतिविधि गरे गराइएको पाइएमा कानुन बमोजिम कारबाही हुने समेत प्रशासनले जनाएको छ ।



