काठमाडौं । स्थानीय तहको निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकिएको छ । निवार्चन आयोगले अघिल्लो निर्वाचनमा जति नै यस पटक पनि उम्मेदावरले पाउने गरि सीमा तोकेको हो ।
स्थानीय तहको निर्वाचनमा उम्मेदवारले पाउने खर्चलाई १० भागमा वर्गीकरण गरिएको छ । जसमध्ये महानगरपालिकाको मेयर तथा उपमेयरका उम्मेदवारले ७ लाख ५० हजार एवं वडाध्यक्ष र सदस्यका उम्मेदवारले ३ लाख खर्च गर्न पाउने व्यवस्था गरिएको छ ।
त्यस्तै, उपमहानगरपालिकामा मेयर र उपमेयरको उम्मेदवारी दिएका व्यक्तिले बढीमा ५ लाख ५० हजार र वडाध्यक्ष र सदस्यका उम्मेदवारले २ लाख २५ हजार रुपैयाँ खर्चको सीमा तोकिएको छ ।
उता, नगरपालिकाका मेयर र उपमेयरका उम्मेदवारले ४ लाख ५० हजारसम्म खर्च गर्न पाउनेछन् भने वडाध्यक्ष र सदस्यका उम्मेदवारले २ लाख रुपैयाँ खर्च पाउने भएका छन् ।
गाउँपालिकाका प्रमुख र उपप्रमुखका उम्मेदवारले भने ३ लाख ५० हजारसम्म मात्रै खर्च गर्न पाउँछन् । गाउँपालिका अन्तर्गतका वडाध्यक्ष र सदस्यका उम्मेदवारलाई भने १ लाख ५० हजार रुपैयाँभन्दा धेरै खर्च गर्न बन्देज लगाइएको छ ।
अहिलेसम्म मतदाता संख्या १ करोड ७८ लाख पुगेको आयोगले बताएको छ ।



