images
images

कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन


  • 400
    SHARES
  • २०७८ चैत्र १ गते मंगलबार

    कालीगण्डकीमा जलविहारको सम्भाव्यता अध्ययन

    दमौली । तनहुँको घिरिङ गाउँपालिकाले कालीगण्डकी नदीमा जलविहार सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरेको छ । पोखरास्थित प्याडल नेपालको प्राविधिक सहयोगमा गाउँपालिकाले सम्भाव्यता अध्ययन गरेको हो । 

    गाउँपालिकालाई पर्यटनको माध्यमबाट विकास गर्ने उद्देश्यसहित जलविहार सञ्चालन गर्ने सोच बनाइएको अध्यक्ष रनबहादुर रानाले जानकारी दिए । “ जलविहारको व्यवस्था गरेर पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यसहित सम्भाव्यता अध्ययन गरेका हौँ, अध्ययन सफल भएको र यहाँ जलविहार यात्रा गर्न सकिने निष्कर्ष निकालिएको छ”, उनले भने, “यसलाई व्यवस्थित गरेर जलविहार यात्रा सञ्चालन गर्छौँ ।”

    गाउँपालिकाले यसका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । घिरिङ –१ बैडीबाट घिरिङ –४ करुवाटारसम्म जलविहार सञ्चालन गरिने जनाइएको छ । यसअघि घिरिङसँग सिमाना जोडिएको चापाकोट, बौदीकालीको संयुक्त पहलमा जलविहार सञ्चालन गर्न खोजिए पनि सम्भव भएको थिएन ।  जलविहार गर्न आउनेलाई बास बस्नका लागि घरबास पनि सञ्चालन गरिएको छ । पुट्टारको घरबास, दृश्यावलोकन केन्द्रलगायतलाई जोडेर जलविहार सञ्चालन गर्ने लक्ष्य लिइएको अध्यक्ष रानाले बताए । 

    “गाउँपालिका र प्रदेश सरकारको संयुक्त प्रयासमा गोफा खोला थुनेर कृत्रिम ताल पनि बनाउँदैछौँ, घिरिङमा रहेका सबै पर्यटकीय क्षेत्रलाई एकीकृत गरी जलविहार यात्रा सुरु गर्छौँ”, उनले भने, “यसले समग्र पालिकाको पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ ।” नारायणी नदी किनारमा सञ्चालन गरिएको जस्तो मोटरबोट सञ्चालन गर्ने भनिए पनि कालीगण्डकीमा त्यो सम्भव नदेखिएको उनले बताए । गाउँपालिकाले अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, विभिन्न राजनीतिक दलका प्रतिनिधिलाई बैडीबाट करुवाटारसम्म जलविहार गराएको छ । 


    images
    images

    Logo