भक्तपुर । भक्तपुरको एक परोपकारी संस्थाले ७ सडक मानवको उद्धार र ३ सय जनाको परिवारमा मिलन गराएको छ । मानवकल्याण समाजले सडकमानव, मनोरोगी, बेसाहाराहरुलाई उद्धार गरेको हो ।
बिभिन्न जिल्लाबाट उद्धार गरी ल्याइएका असाहाय,मनोरोगी, बेसाहारालाई उपचार गरी ३ सय बढीलाई परिवारमा मिलन गराएको छ । तीनै मध्येका ३० जना बालबालिका अझै पनि स्थानीय मदरल्याण्ड बोर्डिङ स्कूलका बिभिन्न कक्षामा अध्ययन गर्दै छन् । भुकम्प पछि ७२ सालमा सडक मानवलाई स्थानीय स्तरमै गएर खाना दिएर अभियान शुरु भएको स्मरण गर्दै समाजकी अध्यक्ष सुमित्रा चौलागाई ७४ मंसिर देखि सडक मानवलाई उद्धार गरी सेवा घरमानै राखेको बताउँछिन् ।
४ वर्षको अवधिमा समाजले बिभिन्न २० जिल्लाबाट ७ सय बढीको उद्धार गरेको छ । उद्धार गरेर ल्याएकाहरुलाई पदाधिकारी एवं अभियन्ताहरुले नै सरसफाई देखि काउन्सिलिङ सम्मको काम गर्दै आएको चौलागाई बताउँछिन् ।
उपचारकै क्रममा ५० जनाले अन्तिमश्वास फेरेकाछन् । निधन भएकाहरुको अभियन्ताले आफै छोराछोरी बनेर अन्तिम संस्कार एवं काजक्रीया गर्दै आएको संस्थाका सचिव पोखरेल बताउँछन् । हाल ६ महिनाका बालकदेखि ९३ वर्ष सम्मका बृद्धबृद्धा मानवकल्याणको ४ वटा सेवा घरमा आश्रित छन् ।
सरकारले केहि वर्षअघिनै सहर र सडकलाई सडकमानव मुक्त राख्ने घोषणा गरेको थियो । सोहि घोषणा अनुसार, कहिकतै सडकमानव देखिए स्थानीय प्रहरी, प्रशासन, वडादेखि नगरपालिकाले मानवकल्याण समाजलाई खबर गरेर उद्धार गरिदिन आग्रह गर्छन् ।
आग्रहअनुसार, समाजले उद्धारदेखि सेवाघरमाल्याएर पालनपोषण र उपचारसमेतको काम गर्छ । त्यो क्रम पछिल्ला दिनमा फैलंदै गएको छ । काठमाडौ उपत्यका मात्र नभएर निकै टाढादेखि समेत मानवकल्याण समाजलाई उद्धारका लागि आग्रह आउँनथालेको बताउँदै अध्यक्ष चौलागाई सेवा बिस्तारसंगै आफ्नो जग्गा र भवन नहुंदा सेवामा स्तरीयताल्याउँन नसकेको स्वीकारछिन् ।
भन्छिन्, ‘चार ठाउँमा गरेर हामीले घर भाडामा मात्र करिब १ लाख २५ हजार रुपैयाँ खर्चिदै आएका छौं । हाम्रो स्थायी आम्दानी केही पनि स्रोत छैन । आम्दानी भनेको सहयोगी मनले जन्मदिन, बिवाह उत्सव, स्मृति दिवश, तिथी, श्राद्धमा गर्ने स्वेच्छिक सहयोग मात्र हो ।’
केहि स्थानीयतहले सहयोग गरे पनि त्यो नियमित नहुंदा केहि अभाव हुँदा मनकारी सहयोगी हातलाई फोन गरेर माग्नुपर्ने बाध्यता रहेको छ । कतिपय संस्थाले असाहायको उद्धारका नाममा स्वदेशी–विदेशी सहयोग ल्याएर कमाई खाने भँंडो बनाइरहेको अवस्थामा मानव कल्याण समाजको सेवा उदाहरणीय रहेको बागमति प्रदेशकी प्रदेश सभा सदस्य प्रतिमा श्रेष्ठ बताउँछिन् ।
मानवकल्याण समाजको सेवाबाट आफु प्रभावित भएको बताउँदै श्रेष्ठले सो कार्यमा सहयोग गर्न लागिपर्ने बताइन् । स्वैक्षिक चन्दा र सहयोगबाट यति ठुलो कामगर्दा समेत मानवकल्याण समाजको काम सरकारको नजरमानपर्नु दुःखद भएको समाजसेवी बालमुकुन्द सुवालको भनाई छ ।
टहरा बनाउँन १० लाख सहयोग
यसैबीच, मानवकल्याण समाजले स्थानीय स्तरमा पुर्याएको योगदान सरकार समक्ष नपुगेपनि स्थानीय व्यवसायी र समाजसेवीसम्म भने पुगेको छ । मानवकल्याण समाजले भाडा तिरेर अनाथहरुलाई राख्ननपरोस भन्ने उदेश्यले निर्माणगरिराखेको टहरा निर्माण सम्पन्नगर्न उनीहरुले सहयोग गरेका हुन् ।
सडकमानवलाई उद्धार गरी राख्न दाङमा निर्माण गरिराखेको टहरा निर्माणकालागि भक्तपुरका व्यवसायीले १० लाख ५० हजार रुपैयाँ सहयोग गरेका हुन् । दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा निर्माण भइराखेको छ । दाङ जिल्लालाई सडकमानव मुक्तबनाउने लक्ष्यसहित एक वर्षअघिदेखि सञ्चालनमा आएको मानव कल्याण समाजको सेवा घरमा हाल करिब ५० जना अनाथ, असाहायहरु आश्रित छन् । पछिल्लो समय सेवा घरमा आश्रय लिनेको संख्यामा बढोत्तरी भएसंगै भाडाको घरमा राख्न खर्चिलो संगै असुविधा भएपछि घोराही उपमहानगरपालिकाले टहरा निर्माणकालागि तीन कठ्ठा जग्गा उपलव्ध गराएको थियो ।
समाजकी अध्यक्ष सुमित्राचौलागाईका अनुसार, नगरपालिकाले उपलव्ध गराएको जग्गामा १० कोठे टहरा निर्माण भइरहेको छ । आगामि नयाँ वर्षसंगै निर्माण सम्पन्न गरी टहराबाट सेवा सञ्चालनगर्ने लक्ष्य लिइएको थियो । निर्माणमा आर्थिक अभाव भएपछि समाजका अगुवा एवं अभिभावकहरुको सकृयतामा सो रकम संकल नभएको अध्यक्ष चौलागाईले बताइन् ।
५ वर्ष अघि भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्थापना भएको समाजअन्तर्गत चाँगुनारायणको झौखेलमा ७० जना बृद्धबृद्धा तथा अनाथ असाहायले आश्रय लिइराखेका छन् । त्यसैगरी सुर्यविनायक नगरपालिकाको नलिनचौक स्थितबाल सेवा घरमा ३० जना तथा काभ्रेपलान्चोकको धुलिखेलस्थित आश्रममा ५० जना गरी दुईसय जनाले आश्रय लिइराखेका छन् ।
संस्थाका कोषाध्यक्ष न्हुच्छेरत्न खाइतुका अनुसार, श्रीभक्त कासिछ्वाले एक लाख ११ हजार रुपैया सहयोग उपलव्ध गराएकाछन् । त्यसैगरी, बालमुकुन्द सुवाल, पुर्ण लिम्बु, प्रविण कुस्मा, किरणथापा, रोमन सिलाकार, लक्ष्मण अवालले जनही एक–एक लाख सहयोग गरेको बताइएको छ ।
त्यस्तै, न्हुच्छेरत्न खाइतुले ९९ हजार, नरेश रन्जितले, मधु ढंगेल, रविराजकार्की, बिज्ञान राईले जनही ५० हजार रुपैया सहयोग गरेका थिए । त्यसैगरी के.पी. अवाल र रुद्र सापकोटाले २५–२५ हजार रुपैया उपलव्ध गराएका थिए ।


पेशल आचार्य

