images
images

पहिले ऋण दिन गाह्रो मान्ने बैंकहरु अहिले ऋण दिन घरमै धाउँछन् : बडाल


  • 1.1K
    SHARES
  • २०७८ फाल्गुण २९ गते आइतबार

    पहिले ऋण दिन गाह्रो मान्ने बैंकहरु अहिले ऋण दिन घरमै धाउँछन् : बडाल

    नेपाल सहकारी पत्रकार समाज (सिजेएन), राष्ट्रिय सहकारी महासंघ र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको संयुक्त आयोजनामा सहकारी क्षेत्रको समसामयिक विषयमा सञ्चारकर्मीसँग छलफल भएको छ । सिजेएनका अध्यक्ष काजी श्रेष्ठको अध्यक्षतामा शनिबार ललितपुरमा अन्तक्र्रिया कार्यक्रम भएको हो । 

    कार्यक्रममा महासंघका पूर्व अध्यक्ष केशबप्रसाद बडालले वाणिज्य बैंकको एकाधिकार तोडेको बताए । ‘विगतका दिनहरुमा सर्वसाधारणले वाणिज्य बैंकबाट ऋण पाउन सक्ने अवस्था थिएन, हुनेखानेले मात्रै ऋण पाउँथे, जब सकारीहरुले आफ्नो काम सुरु गरे अहिले वाणिज्य बैंक ऋण लिइदिनु पर्यो भनेर घरमै आउँछन्, यो वातावरणको सिर्जना सहकारीले गरेको हो,’ उनले भने । 

    सहकारी अभियान यथार्थपरक ढंगले लाग्नु पर्ने बताए । ‘सहकारी अभियान सामाजिक व्यवसाय नै हो, राज्यको चौथो अंग र सहकारी अभियान मिलेर अगाडि जानुपर्ने आजको आवश्यकता हो,’ उनले भने । 

    कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेलले वाणिज्य बैंकहरुले व्याज बढाए मात्रै सहकारीको सन्दर्भ व्याज बढ्ने बताएका छन् । ‘हिजो सहकारीको सन्दर्भ व्याजदर १४.७५ प्रतिशत हुँदा पनि सहकारीहरुले ११/१२ प्रतिशतमै कर्जा लगानी गरेको थिए, त्यतिखेर तरलताको सहज अवस्था थियो, तर, अहिले असहज अवस्थामा पनि सहकारीले १६ प्रतिशतमा दिएका छन्, बैंकहरुले नै १६ प्रतिशतमा दिएको विषय हामी सुनिरहेका छौं,’ उनले भने ।

    सहकारी अभियान र सञ्चारकर्मीको समन्वय आवश्यक आवश्यक रहेको बताए । उनले दिनप्रतिदिन सहकारीमा आकर्षण बढेकोले अब यसको विश्वसनियतालाई थप बढाउनका लागि सबैले आ–आफ्नो ठाउँबाट लागि पर्नु पर्ने बताए । ‘अब सहकारी अभियान र सञ्चार क्षेत्रको साथ सहयोग र समन्वय हुन आवश्यक छ । सहकारी क्षेत्रमा पनि अधुरो छ । यसमा सुधार गर्न आवश्यक छ । केही सीमित सहकारीको कारण सबै बदनामी हुनु परेको अवस्था छ,’ उनले भने । 

    महासंघका सञ्चालक डीबी बस्नेतले सहकारी मूल्यमा आधारित सेवा भएकोले महासंघले मूल्यमा आधारित सेवा बढाउनु पर्ने धारणा राखे । सुशासनको अवस्थामा नियमित काम भइरहेको बताउँदै उनले काम गरे अनुसारको प्रचार भने हुन नसकेको उनको भनाई छ । 
    उनका अनुसार दुर दराजमा सहकारीले उदाहरणीय काम गरेका छन् । 

    कार्यक्रममा दुई विषयमा कार्यपत्र पनि प्रस्तुत गरिएको थियो । सहकारी अभियानको तर्फबाट राष्ट्रिय राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा कुमारी सुब्बा र सिजेएनको तर्फबाट सिजेएनका निवर्तमान अध्यक्ष तथा सल्लाहकार खिलानाथ दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । 

    उनले सहकारीमा शुसाशन, विश्लेषणात्मक समाचारहरुको आवश्यक रहेको बताउँदै सहकारीका कमि कमजोरी पहिल्याउन पनि जरुरी रहेको धारणा राखिन् । सहकारीको वर्तमान वस्तुस्थितीको बारेमा जानकारी गराउँदै उनले पहिलेको तुलनामा सहकारीहरुमा सदस्य, पूँजी, कार्यक्षेत्र तथा सेवाकेन्द्रहरु वृद्धि भएको पनि जानकारी दिइन् । 

    यस्तै, उनले सहकारीमा रहेको चुनौतिका विषयमा पनि प्रस्तुति दिएकी थिइन् ।  सहकारी क्षेत्रमा दक्ष जनशक्तिको न्यून आकर्षण, तथा स्थायित्वको अभाव,  शिक्षा तथा तालिम प्रति न्यून आकर्षण, प्रविधिमाथिको पहुँचमा सीमा, संस्थागत शुसाशनको कमि, संघहरु व्यवसायीक बन्न नसक्नु र सहकारीका सकारात्मक कामको प्रचारप्रसारमा कमि पनि यस क्षेत्रका मुख्य चुनौति रहेको बताइन् । 

    उनले सहकारीलाई तीनखम्बे अर्थनिति स्थापित गर्न सफल अभियान सफल भएको, छुट्टै मन्त्रालय गठन, सञ्जालिकरणमा व्यापकता,  धुरै मुलुकसँग सम्बन्ध स्थापित लगायतका कामहरु सहकारी अभिायनका उपलब्धि भएको पनि जानकारी दिइन् । 

    यस्तै, सिजेएनका निवर्तमान अध्यक्ष तथा समाजका सल्लाहकार खिलानाथ दाहालले आफ्नो कार्यपत्र प्रस्तुत गर्दै सहकारी अभियानको प्रवद्र्धनमा सञ्चार क्षेत्रको भूमीका महत्वपूर्ण हुने भएकोले आगामी दिनमा सहकार्य गरेर अगाडि बढ्न आवश्यक रहेको उल्लेख गरे । 
    सहकारीहरु सदस्यहरुको हितभन्दा पनि सीमित व्यक्तिहरुको हितका लागि काम गर्दा पनि पछिल्ला केही गलत घटनाक्रमहरु आइरहेको उनको भनाई छ । 

    सहकारीले राम्रो काम पनि गरेको प्रशंग जोड्दै उनले सञ्चारकर्मीहरुले पनि त्यसतर्फ चासो दिनु पर्ने उनले बताए । ‘छिटो कमाउन चाहने सहकारीको कारणले बिकृति आयो कि भन्ने धेरैको बुझाई छ,गल्ति गरेकाहरुको संघले संरक्षण गरेर पनि यो अवस्था आएको हुन सक्छ, अनुगमन फितलो भएको पनि हुन सक्छ, सहकारी अभियानकर्मीहरुले नियामकलाई नटेरेको अवस्था होकि भन्ने धेरैको बुझाई पनि छ,यसतर्फ हामी सबैले ध्यान दिन आवश्यक छ,’ उनले प्रस्तुति मार्फत भने । 

    कार्यक्रममा नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष काजी श्रेष्ठले सिजेएनले सहकारी अभियानको विकास र विस्तारमा सधैं साथ समन्वय गर्न तयार रहेको धारणा राखे । सिजेएनका सचिव अर्जुन खतिवडाले सञ्चालन गरेको कार्यक्रममा सहकारी अभियानकर्मी, महासंघका सञ्चालक तथा सञ्चारकर्मीको उपस्थिती रहेको थियो ।


    images
    images

    Logo