images
images

दोर्दीखोलाले वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने


  • 372
    SHARES
  • २०७८ फाल्गुण २५ गते बुधबार

    दोर्दीखोलाले वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने

    काठमाडौं । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा यहाँ निर्माणाधीन दोर्दीखोला जलविद्युत् आयोजनाबाट आगामी वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन थाल्ने भएको छ । 

    जिल्लाको दोर्दी खोलामा निर्माणाधीन २७ मेगावाट क्षमताको सो आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र आगामी चैत महिनाभित्रमा परीक्षण गरेर वैशाख पहिलो हप्तादेखि विद्युत् उत्पादन गर्ने आयोजना प्रमुख मुना शाक्याले जानकारी दिए ।

    उनले भने, “हामीले आयोजनाको निर्माण सम्पन्न गर्दै एक महिनाको लामो परीक्षण गरिसकेका छौँ ।” यसबीचमा साना–साना समस्या रहेको र गत असारमा आएको बाढीले क्षति बनाएको बाँधस्थल लगायतका क्षेत्रमा पर्खाल लगाउने र मर्मत गर्ने कार्य भइरहेको उनको भनाइ छ । 

    चैत महिनाभित्रमा बाँकी रहेका ती काम सम्पन्न गर्दै अन्तिम परीक्षण गर्ने र प्राविधिकरणले जाँच गरेसँगै वैशाखको पहिलो हप्ताबाट व्यावसायिक रुपमा विद्युत् उत्पादन गर्ने उनको भनाइ छ ।

    आयोजनाको शत् प्रतिशत नै निर्माण सम्पन्न भए पनि गत असारमा आएको बाढीले क्षति बनाएको टनेलको सिपेज र बाँधस्थलमा निर्माण गरिएको ‘गेट’को मर्मत भइरहेको छ । 

    उनका अनुसार इलोट्रो–मेकानिकल, पेनस्टकको इनटेक, फिल्डर पाइपलगायतका काम सम्पन्न भइसकेको छ । उक्त सबैको सफल परीक्षणसमेत भइसकेको छ । त्यस्तै, पाइप विच्छ्याउने, सुरुङ खन्ने लगायतका अधिकांश निर्माण सम्पन्न भएको आयोजनाले जनाएको छ ।  पनस्टेकको ७ सय मिटर, ३ हजार २ सय मिटरको सुरुङ खन्ने तथा पाइप विच्छाउने, अर्को २ हजार २ सय ७० मिटरको सुरुङको सम्पूर्ण काम सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । 

    आयोजनाको बाँधस्थल २ सय १२ मिटर ‘ग्रसहेड’ रहेको छ । बेँसीशहर नगरपालिका ११ रामचोकबेँसीमा पावर हाउस रहेको छ । २०७२साल फागुनबाट निर्माण सुरु गरेको यस आयोजनाले २०७५  साल भदौ १५ गते विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको थियो ।   
    नाकाबन्दी, अघिल्लो वर्षायाममा विद्युत् गृहमा मस्र्याङ्दी नदीको पानी छिरेर मेसिनरी सामानमा पु¥याएको क्षति, कोरोनाका कारण जारी निषेधाज्ञा र सुरुङ निर्माण गर्ने क्रममा कमजोर चट्टान भेटिएकाले ढिलाइ हुन पुग्दा निर्धारित समयमा काम सम्पन्न नभएको आयोजनाले जनाएको छ । 

    पछि समय थपेर २०७६ साल चैत मसान्तसम्ममा निर्माण सक्ने सम्झौता गरे पनि सोही अवधिमा पनि निर्माण सम्पन्न नभएपछि २०७६ साल असारसम्म सक्ने गरी सम्झौता भएको थियो । सो समयमा पनि निर्माण सम्पन्न गर्न नसकेपछि २०७६ साल पुस महिनामा बिजुली उत्पादन गर्ने लक्ष्यका साथ अघि बढेको थियो ।

     सो समयमा पनि बिजुली उत्पादन गर्न नसकेपछि २०७७ साल चैत महिनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखेपनि सम्पन्न भएन । सो पश्चात् आगामी चैत महिनाभित्रमा विद्युत् उत्पादन गर्ने लक्ष्य रहेपनि अगामी वैशाख महिनामा मात्र उत्पादन हुने भएको छ । 

    सुरुमा ४ अर्ब २३ करोड रुपैयाँ लाग्ने अनुमानका साथ आयोजनाले निर्माण थालनी गरेपनि निर्माण अवधि लम्बिदै गएकाले ४ अर्ब ६४ करोड रुपैयाँ सम्म खर्च हुनसक्ने आयोजनाको अनुमान छ । 

    यस आयोजनामा गैरआवसीय नेपाली सङ्घ (एनआरएनए) को ३५ दशमलव ७ प्रतिशत, आइएमई गु्ररुपको ३४ दशमलव ३ प्रतिशत र ३० प्रतिशत सर्वसाधारणको लगानी छ । नेपाल विद्युत् प्राधिकरण र सो कम्पनीबीच  २०६९ साल असार १ गते पिपिए सम्झौता भएको थियो । 

    आयोजनाको अनुसार सुक्खायाममा ८ रुपैयाँ ४० पैसा र वर्षायाममा ४ रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने सम्झौता भएको छ । जिल्लामा यसअघि आधा दर्जन जलविद्युत् आयोजनाले निर्माणकार्य सम्पन्न गर्दै बिजुली उत्पादन गरिरहेको छ । 

    त्यस्तै आधादर्जन भन्दा बढी आयोजनाले निर्धारित समयमा निर्माण सम्पन्न गर्न नसक्दा यस आयोजना जसरी पटक–पटक विद्युत् उत्पादन मिति तोक्दै निर्माण अघि बढाइरहेको छ ।   


    images
    images

    Logo