images
images

उपत्यकामै जब सेन्टर खोलेर ठगी गर्ने ९ जना पक्राउ


  • 377
    SHARES
  • २०७८ फाल्गुण २४ गते मंगलबार

    उपत्यकामै जब सेन्टर खोलेर ठगी गर्ने ९ जना पक्राउ

    काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा केही व्यक्तिले जब सेन्टर खोलेर ठगी गरेका छन् । उनीहरूले जब प्लेसमेन्ट कम्पनी दर्ता गर्ने र उक्त कम्पनीका सामाजिक सञ्जाल, पत्रपत्रिका, प्रचार पम्पलेटका माध्यमबाट सम्पर्कमा आएका व्यक्तिमाथि ठगी गरेको पाइएको हो ।

    उनिहरूले घरमै बसी जागिर मिल्छ भनी झुटा प्रचारप्रसार गर्ने गरेका पनि फेला परेको प्रहरीले जनाएकाे छ । प्रहरी अधिकारीका अनुसार, प्रकाशित  सूचनामार्फत सम्पर्कमा आएका व्यक्तिलाई जागिरका लागि फारम भर्ने बहाना बनाई ३ सय देखि ५ सयसम्म शुुल्क लिने गरेका पाइएको छ । उनीहरूले जब ग्यारेन्टीका लागि भनी लोभ देखाएर १ हजारदेखि ६ हजारसम्म असुल्ने गरेको महानगरीय अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

    विशेष सूचनाको आधारमा अनुसन्धानमा खटिएको महाशाखाको टोलीले जागिर लगाइदिने बहानामा ठगी गरेको पाइएपछि केही जब सेन्टरमा सञ्चालकलाई कानुनी दायरामा ल्याएको छ । महाशाखाबाट परिचालित टोलीले काठमाडौंको कोटेश्वर, नयाँबानेश्वर, चाबहिल, बालाजुलगायत स्थानमा कार्यालय नै खोलेर शुल्कसमेत लिई ठगी गरेको पाइएपछि ९ जनालाई पक्राउ पनि गरेको छ ।

    सम्पर्कमा आई शुल्क तिरेर फारम भर्ने व्यक्तिलाई विज्ञापनमा उल्लेखित शर्तबमोजिमको काममा नलगाउने तथा जागिरमा लगाइहाले पनि तोकिएबमोजिम तलब र सुविधा नदिइने तथा दिए पनि केही समयमा नै उक्त जागिर छोड्न बाध्य बनाउने गरिएको प्रहरीले जनाएको छ । उक्त समूहले कुनै एक जब सेन्टरमा फारम दर्ता गरिसकेको व्यक्तिलाई तपाईँको जागिर पक्का भइसकेको छ भनी सम्पर्कमै रहेको अर्को जब सेन्टरमा पठाई त्यहाँसमेत फारम भरी शुल्क असुल्ने गरेको पनि महाशाखाले जनाएको छ ।


    images
    images

    Logo