काठमाडौं । मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाका विषय कार्यान्वयनका लागि निर्देशन जारी भएसँगै आज शेयर बजारमा भारी गिरावट आएको छ । आज बजार झन्डै ६० अंकले घटेको छ ।
तर, समग्र बजारको अवस्था विपरित हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको शेयरमूल्य भने सकारात्मक सर्किटको नजिकमा पुगेर बन्द भएको छ । सो कम्पनीको शेयर ९.९१ प्रतिशतले बढेको छ ।
कजार घट्दा पनि कुनै कम्पनीको शेयरमूल्य बढ्नु अस्वभाविक होइन । तर, जुन हिसाबले हिमालयन जनरल इन्स्योरेन्ससको शेयरमूल्य बढेको छ, त्यो भने अस्वभाविक खालको छ । अन्तिम समयमा भएका केही कारोबारले नै यसलाई सकारात्मक सर्किटको दिशामा पुर्याएको छ ।
अघिल्लो दिन ६ सय ९६ रुपैयाँमा कारोबार भएको सो शेयर आन बजार खुला हुँदा ६ सय ८३ रुपैयाँमा कारोबार भएको थियो । दिनभरमा ८१ वटा कारोबार भएको सो कम्पनीको मूल्य ७२ वटा कारोबार अघिल्लो दिनको मूल्यभन्दा कममै कारोबार भएको थियो ।
तर, अन्तिम समयको ९ वटा कारोबारले कमाल गर्यो π यो कारोबारबाट सो कम्पनीको मूल्य ७ सय ६५ रुपैयाँ पुग्न सफल भयो । अचम्म त यो छ कि ७ सय ९ रुपैयाँबाट करिब ६५ रुपैयाँ मूल्य बढ्दा सो कम्पनीको ४० कित्ता मात्रै शेयर कारोबार भएको छ ।




