काठमाडौं । महालक्ष्मी विकास बैंकले साधारणसभा बोलाएको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
बैंकले फागुन १३ गते बिहान ११ बजे नेपाल प्रज्ञाप्रतिष्ठान कमलादी काठमाडौंमा बस्नेगरी सभा बोलाएको छ । सो सभाले २०७७/७८ को मुनाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
बैंकले साधारणसभा प्रयोजनका लागि शेयरधनी किताब खाता पुष १३ गते बन्द गरिसकेको छ । यसर्थ पुष १२ गतेसम्म कायम भएका शेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश लिन र सो साधारणसभामा सहभागी हुन पाउनेछन् ।
कम्पनीले यस अघि पुष २५ गते बस्नेगरी साधारणसभा बोलाएको थियो । तर गणपुरक संख्या नपुगेका कारण सो साधारणसभा माघ ३ गते बस्नेगरी स्थगित भएको थियो ।
दोस्रो पटक माघ ३ गते बस्ने भनेको साधारणसभा पनि अदालतको आदेशका कारण स्थगित भएको थियो ।



