काठमाडौं । ग्रीन भेञ्चर्सको आईपीओ आजदेखि खुल्दैछ । कम्पनीले शेयरधनीका लागि छुट्याएको ३१ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
रामेछाप र ओखलढुंगाको सीमामा रहेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्माण गरिरहेको सो कम्पनीले पहिलो चरणमा सो क्षेत्रका प्रभावित र स्थानीयवासीमा लागि आजदेखि ३१ लाख २५ हजार कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।
यो शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ । इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् ।
स्थानीयवासीका लागि शेयर बिक्री खुले पनि सर्वसाधारणले भने शेयरका लागि अझै २ महिना कुर्नुपर्ने भएको छ । स्थानीयवासीका लागि जारी भएको शेयर बाँडफाँट सकिएपछि मात्रै सर्वसाधारणलाई शेयर जारी हुन्छ । स्थानीयवासीले सबै शेयर नकिनेको अवस्थामा सो शेयरसर्वसाधारणलाई थप गरेर बिक्री गरिने भएकोले सो बाँडफाँट कुर्नुपर्ने भएको हो ।
सो कम्पनीको प्रतिमेगावाट लागत मूल्य २३ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको पेब्याक पिरियड ७.९१ वर्ष र डिस्काउन्टेड पेब्याक पिरियड ११.५७ वर्ष रहेको छ ।



