काठमाडौं । २ साताअघि नेपाल धितोपत्र बोर्डबाट आईपीओको अनुमति पाएको ग्रीन भेञ्चर्सले आईपीओ बिक्री प्रक्रिया सुरु गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित तथा स्थानीयवासीका लागि आईपीओ बिक्री गर्न लागेको हो ।
रामेछाप र ओखलढुंगाको सीमामा रहेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत् आयोजना निर्माण गरिरहेको सो कम्पनीले पहिलो चरणमा सो क्षेत्रका प्रभावित र स्थानीयवासीमा लागि फागुन २ गतेदेखि ३१ लाख २५ हजार कित्ता साधारण शेयर जारी गर्न लागेको हो ।
यो शेयरका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ । यसका लागि छिटोमा फागुन १६ र ढिलोमा चैत १ गतेसम्म दिन सकिने जनाइएको छ ।
स्थानीयवासीका लागि शेयर बिक्रीको मिति तय भए पनि सर्वसाधारणले भने शेयरका लागि अझै २ महिना कुर्नुपर्ने भएको छ । स्थानीयवासीका लागि जारी भएको शेयर बाँडफाँट सकिएपछि मात्रै सर्वसाधारणलाई शेयर जारी हुन्छ । स्थानीयवासीले सबै शेयर नकिनेको अवस्थामा सो शेयरसर्वसाधारणलाई थप गरेर बिक्री गरिने भएकोले सो बाँडफाँट कुर्नुपर्ने भएको हो ।
ठूलो परिमाणमा शेयर बिक्री हुन लागेको, औसतभन्दा लागत मूल्य उच्च भएको र लकइन पिरियड ३ वर्ष हुने व्यवस्थाका कारण यो कम्पनीमा स्थानीयवासीको लागि छुट्याइएको सबै शेयर आवेदन पर्ने सम्भावना कम मात्रै छ । यसो हुँदा यो शेयर भर्ने समय चैत १ गतेसम्म लम्बिन्छ । यसको बाँडफाँट प्रक्रिया सक्दा समय थप जाने भएकोले यो सर्वसाधारणका लागि छुट्याइएको शेयर बिक्री सुरु हुन चैत अन्तिम साता वा बैशाख कुर्नुपर्ने अवस्था देखिएको छ ।
सो कम्पनीको प्रतिशेयर लागत मूल्य २३ करोड रुपैयाँ अनुमान गरिएको छ । यसको पेब्याक पिरियड ७.९१ वर्ष र डिस्काउन्टेड पेब्याक पिरियड ११.५७ वर्ष रहेको छ ।



