images
images

जाल्पा लघुवित्तको आईपीओ आजदेखि


  • 612
    SHARES
  • २०७८ माघ २१ गते शुक्रबार

    जाल्पा लघुवित्तको आईपीओ आजदेखि

    काठमाडौं । जाल्पा सामुदायिक लघुवित्तको आईपीओ आजदेखि खुल्दैछ । लघुवित्तको ५ लाख २२ हजार कित्ता साधारण शेयरका लागि शुक्रबारदेखि आवेदन खुला हुन लागेको हो । उक्त शेयरमध्ये  हजार कित्ता कर्मचारी र २६ हजार १ सय कित्ता म्युचुअल फण्डलाई छुट्याएर बाँकी ४ लाख ८७ हजार ९ सय कित्ता शेयर सर्वसाधारणलाई बिक्री गर्न लागिएको छ । 

    संस्थाका कर्मचारी र म्युचुअल फण्डका लगानीकर्ताबाहेक यो शेयर ४८ हजार ७ सय ९० जनालाई वितरण गर्न पर्याप्त हुन्छ । सो शेयरको आवेदन आगामी मंगलबारको २५ गते बन्द हुनेछ । इच्छुक आवेदकले डिम्याट खातासँग लिङ्क भएका बैंक खातामार्फत् सीआश्वा प्रणालीबाट शेयरका लागि आवेदन दिन सक्नेछन् । न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार २ सय कित्तासम्मका लागि आवेदन दिन पाउने व्यवस्था गरिएको छ । 

    कस्तो छ संस्था ? 

    आजदेखि खुल्न लागेको सो कम्पनीको वित्तीय अवस्था भने निकै मजबुत देखिन्छ । आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरणलाई हेर्ने हो भने सो कम्पनीले यो लघुवित्तको प्रतिशेयर आम्दानी ९६.७५ रुपैयाँ छ । आईपीओ जारी भएपछिको वृद्धि हुने शेयरमा पनि यस्तो आम्दानी ७५ रुपैयाँ रहने प्रक्षेपण लघुवित्तको विवरणपत्रमा गरिएको छ । 

    त्यस्तै, अहिले सो लघुवित्तको प्रतिशेयर नेटवर्थ ३७९.८६ रुपैयाँ रहेको छ । आईपीओ जारी भएपछि अर्को वर्ष यो २९७ रुपैयाँ कायम हुने प्रक्षेपण गरिएको छ । यो पनि तुलनात्मक रुपमा निकै राम्रो हो । 

    यो लघुवित्त संस्था दुई संस्थाको मर्जरपछि बनेको राष्ट्रिय स्तरको लघुवित्त संस्था हो । पोखरा मुख्य कार्यालय भइ  १० जिल्ला कार्यक्षेत्र भएको तात्कालिन जाल्पा लघुवित्त र दाङ मुख्य कार्यालय भइ १० जिल्ला नै कार्यक्षेत्र भएकाे महिला सामुदायिक लघुवित्त संस्थाको मर्जरपछि यो संस्था बनेको हो । याे संस्थाकाे अघिल्लो वर्ष मंसिरमा एकीकृत कारोबार भएको थियो । दुई संस्था मिलेपछि यो राष्ट्रिय स्तरको लघुवित्त संस्था बनेको हाे । अहिले सो लघुवित्तले सेवा विस्तार गरेर २४ जिल्ला पुर्याएको छ । 

    दुई संस्थाबीच १ः१ स्वाप रेसियोका आधारमा प्राप्ति प्रक्रिया सम्पन्न भएको थियो । प्राप्तिपछि यसको पुँजी १० करोड ७६ लाख रुपैयाँ पुगेको छ । ३२.२६५ प्रतिशत बराबर आईपीओपछि यस्तो पुँजी १५ करोड रुपैयाँ नाघ्नेछ ।

    अहिले बजारमा भएका जीवन विकास लघुवित्त, महिला लघुवित्त, फरवार्ड माइक्रोफाइनान्स, नेशनल माइक्रोफाइनान्स, जनउत्थान सामुदायिक लघुवित्त लगायतलाई प्रतिशेयर नाफा र नेटवर्थका आधारमा प्रतिस्पर्धी लघुवित्त संस्था मानिन्छ । सोही कारण यी संस्थाको शेयरमूल्य समेत उच्च छ । संस्थाको वित्तीय अवस्था र सम्भावनालाई हेर्दा आईपीओ जारी गरेपछि जाल्पा पनि त्यही प्रतिस्पर्धी संस्थाको रुपमा उदय हुने अवस्था देखिन्छ । 

    यद्यपि आईपीओ सूचीकरणपछि यो कम्पनीको पहिलो कारोबार भने बढीमा ४ सय ९३ रुपैयाँबाट मात्रै सुरु हुनेछ  । अघिल्लो वर्षको प्रतिशेयर नेटवर्थका आधारमा विवरणपत्र तयार गरिएकोले उक्त नेटवर्थको आधारमा कारोबार मूल्य निर्धारण हुनेछ । 


    images
    images

    Logo