काठमाडौं । कारोबार अवधिभरमा तीब्र उचारचढावबीच नेपाल स्टक एक्सचेञ्ज परिसूचक नेप्से बढेर बन्द भएको छ । मंगलबार नेप्से १९.२६ अंकले बढेर २ हजार ८ सय ९१ दशमलव ३० विन्दुमा पुगेको हो । आज बजारमा ६ अर्ब ५७ करोड रुपैयाँ बराबरको कारोबार भयो ।
आज बजारमा कारोबार भएका कम्पनीमध्ये १ सय ४८ कम्पनीको मूल्य बढ्दा ३६ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्य भने बराबर छ ।
बजारमा आज दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । वि नेपाल लघुवित्त र बुद्धभुमि हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्दा नेशल हाइड्रोपावर र फरवार्ड माइक्रोफाइनान्स समेत धेरै कमाउने कम्पनीमा परेका छन् ।
आज बजारमा हाइड्रोपावरको शेयर कारोबार उच्च भएको छ । कारोबारसँगै सो समूहको मूल्यमा पनि उछाल आएको छ । आज यो समूहमा ३ प्रतिशत भन्दा धेरैको वृद्धि देखिएको छ ।
आज नेशनल हाइड्रोपावरको एकैदिन ३९ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, अरुण भ्यालीको ३७ करोड, अपी हाइड्रोपावरको ३५ करोड तथा अपर तामाकोशी हाइड्रोपावरको ३२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।



