images
images

‘कोरोनाको ग्राफ निरन्तर उकालो लागे’सँगै जडिबुटीको धुलोको माग बढ्दो


  • 351
    SHARES
  • २०७८ माघ ११ गते मंगलबार

    ‘कोरोनाको ग्राफ निरन्तर उकालो लागे’सँगै जडिबुटीको धुलोको माग बढ्दो

    काठमाडौँ ।  नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङ्क्रमण बढेसँगै गुर्जोलगायत जडिबुटीबाट बनेको रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने धुलोको माग बढ्न थालेको छ ।कोरोनामा गुर्जोलगायत जडिबुटीले राम्रो गरेको अनुभव भएपछि धेरैको आकर्षण यसतर्फ बढेको हो ।

    २०७६ साल चैतमा नेपालमा कोरोना भाइरस भेटिएपछिदेखि नै मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्ने गुर्जोलगायत जडिबुटी मिसिएको पोका निःशुल्क वितरण गर्दै आउनुभएका आन्तरिक राजश्व कार्यालयमा कार्यरत कमलबहादुर राजलवटले यसपटक पनि अभियानलाई तीव्रता दिएका छन् । हाल ४० जिल्लाका १ सय २० स्थानबाट निःशुल्क गुर्जोलगायत करिब ६० जडिबुटी मिसिएको धुलो वितरण भइरहेको उनले जानकारी दिए । 

     नेपालमा पहिलोपटक कोरोना देखिँदा आन्तरिक राजश्व कार्यालय लहानमा प्रमुख कर अधिकृतका रुपमा कार्यरत उनले त्यसबेलादेखि नै देशभर निःशुल्क जडिबुटीको धुलो वितरण शुरु गर्नुभएको हो । कार्यालय सरुवा भएर काभ्रपलाञ्चोकको धुलिखेलमा आएपछि पनि उहाँले जडिबुटीको धुलो वितरणलाई निरन्तरता दिनुभएको छ । गुर्जोकोमात्र धुलो वितरण गरेर अभियान शुरु गर्नुभएका राजलवटले कोरोनाको दोस्रो लहरका बेला ४८ जडिबुटीको धुलो बनाएर वितरण गरेको थियो । 

      गुर्जोलगायत ५६ जडिबुटीबाट बनेको धुलोको माग बढ्दो

     कोरोनाको तेस्रो लहर शुरु भएपछि भने उनले ५६ प्रकारका जडिबुटीको धुलो बनाएर निःशुल्क वितरण गर्न थालेका छन् । तेस्रो लहरको कोरोना छिटो फैलने र यसले परिवारका सबैजसो सदस्यलाई ग्रस्त बनाउन थालेपछि यसको माग बढेको हो । कार्यालय समय बाहेक बिहान र बेलुका जडिबुटीको धुलो बाँडेर नै बिताउने गरेका राजलवट कोरोनालगायत फ्लुजन्य रोगबाट बच्न जडिबुटीको धुलो प्रभावकारी भएको अनुभव सुनाउनुहुन्छ । एकपटक जडिबुटीको धुलो प्रयोग गरेकाले पटकपटक फोन गरेर थप धुलो मगाउने गरेका छन् ।

    हाल गुर्जो, तुलसी, असुरो, लेमनग्रास, कटीपत्ता, ज्वानो, मेथी, दालचिनी, तेजपात, हर्रो, बर्रो, अमला, ल्वाङ, अलैँची, टिम्बुर, मरिच, सुठो, बेसार, पिपला, अपमार्ग, सनईपत्ता, निपोध, निम, चिराइतो, बकाइनो, ज्येष्ठमधु, वायुविरिङ, चुत्रो, नागरमोथी, सुन्तलाबोक्रा, अनारबोक्रा, लज्जावती, पुनःनभा, अम्बापात, पारिजात पात, आँप पात, वर पात, पिपल, मेवा पात, बोझो, तितेपाती, रुदिलो, कालोजिरा, बेलपात, माझिम फल, जङ्गे हर्रो, सिमल फुल, पुदिना, ठूलो ओखती, अर्जुन छाल, धनियाँ, ब्राह्मी, कोइरालो, खयर, सयपत्री, गोदावरी गरी ५६ वटा जडिबुटीबाट बनेको धुलो बनाएर वितरण गरिएको छ । 

     कोरोना सङ्क्रमित तथा रूघा, खोकी, ज्वरो, फ्लु रोगीमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्विका लागि गुर्जोसहितको धुलो उपयोगी मानिने आयुर्वेदका चिकित्सक डा वंशदीप शर्मा खरेल बताए । आयुर्वेद चिकित्सक तथा विज्ञको परामर्शमा तयार गरी यो धुलो वितरण शुरु गरिएको हो । आयुर्वेद चिकित्सक स्व डा ऋषिराम कोइराला, राष्ट्रिय आयुर्वेद  अनुसन्धान  तथा तालिम केन्द्र, कीर्तिपुरका कार्यकारी निर्देशक डा रामआधार यादवलगायत चिकित्सकको सल्लाहमा यो धुलो तयार पारिएको अभियानकर्मी राजलवट बताए ।

    सङ्क्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुण युक्त वनस्पति गुर्जोका परिकार सेवन गर्नेको सङ्ख्या बढ्न थालेको छ । कोरोना पोजेटिभ भएका मानिसले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ आएको अनुभव सुनाएका छन् । 

     कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा आइसोलेसनमा राखिएका कोरोना पोजेटिभलगायतलाई गुर्जोलगायत जडिबुटीकै सेवन गराउने गरिएको कार्यकारी निर्देशक यादवले सुनाउनुभयो । यी केन्द्रमा बिहान बेलुका प्राणायाम, योग र ध्यानसमेत गराइन्छ । यो विधिबाट उपचार गर्दा बिरामी ठीक भएर फर्कने गरेको उनको भनाई छ ।  

     हालसम्म करिब ३ लाखभन्दा बढीलाई गुर्जोका बिरुवा वितरण गरिएको उनले जानकारी दिए । त्यति नै सङ्ख्यामा गुर्जोबाट बनेको चिया र धुलो पनि निःशुल्क वितरण गरिएको छ । सार्वजनिक स्थलमा हुने कार्यक्रममा निःशुल्क गुर्जोको चियासमेत करिब ५ लाख मानिसलाई खुवाइएको राजलवट बताए । गुर्जोका परिकारले कब्जियत हटाउने, तरोताजा एवं स्फूर्तिसमेत बढाउने सेवनकर्ताको अनुभव छ ।  यस्तै महत्वको औषधी भएकाले एक घरमा अनिवार्य रुपमा एउटा गुर्जोको बिरुवा रोपे धेरै रोगका लागि औषधीको काम गर्ने, नियमित सेवनले मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढ्ने आयुर्वेद चिकित्सक डा खरेल बताए । 

    हिमालयका काखमा रहेको नेपाली वनपाखामा धेरै किसिमका औषधीय गुणले युक्त जडिबुटी एवं वनस्पति भएपनि तिनको सदुपयोग हुन सकेको छैन । कतिपय जडिबुटी, वनस्पति चोरी निकासी भई त्यसमा रासायनिक पदार्थ मिलाएर बनाइएको आधुनिक औषधी नेपालमा भित्रने गरेको अभियानकर्मीको गुनासो छ ।

     आयुर्वेद अस्पताल र औषधालयलाई प्रवद्र्धन गर्न खोज अनुसन्धानमा जोड दिनुपर्ने चिकित्सक खरेलको भनाइ छ । आयुर्वेद औषधी उत्पादन गर्ने सिंहदरबार वैद्यखाना विकास समितिसमेत निरन्तर ओरालो लागेकाले सरोकार भएका निकायको ध्यान जानुपर्ने अभियानकर्मीको माग छ ।


    images
    images

    Logo