काठमाडौँ । नेपाल राष्ट्र बैंकले लाभांश अस्वीकृत गरेपछि एनआईसी एशिया बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । मंगलबार सो बैंकको शेयर किन्न चाहनेको संख्या अधिक देखिएको हो ।
नेपाल स्टक एक्सचेञ्जमा मंगलबार २ लाख १८ हजार कित्ता भन्दा धेरै शेयरको माग भएको छ । यो दोस्रो सर्वाधिक माग हो । सबैभन्दा धेरै माग भने अपि पावर कम्पनीको ३ लाख ३ हजार कित्ता भन्दा बढी छ ।
राष्ट्र बैंकले लाभांश अस्वीकृत गरेसँगै यो वर्ष एनआईसी एशिया बैंकका शेयरधनीले लाभांश नपाउने भएका छन् । न्यूजतम पुँजीकोष अनुपात नपुगेको भन्दै राष्ट्र बैंकले सो बैंकलाई कारबाहीस्वरुप लाभांश वितरणमा रोक लगाएको हो ।
यसअघि सो बैंकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको थियो । सो अस्वीकृत भएपछि एकातर्फ बैंकको शेयरको आपूर्ति नबढ्ने भएको छ भने अर्कोतर्फ प्रतिशेयर आम्दानी समेत उच्च देखिने भएको छ । यही कारण सो बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको हो ।



