images
images

प्रहरीले बरामद गरेको महमा भेटियो क्यान्सर गराउने तत्त्व


  • 391
    SHARES
  • २०७८ माघ ८ गते शनिबार

    प्रहरीले बरामद गरेको महमा भेटियो क्यान्सर गराउने तत्त्व

    काठमाडौँ । महानगरीय अपराध महाशाखाको टोली माघ ६ गते बिहीबार ज्याठामा रहेको एक घरमा पुग्यो । अखाद्य पदार्थ मिसाएर नक्कली मह बनाएर बजारमा विक्री वितरण गरिरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले मह उद्योगका सञ्चालक ३८ वर्षीय नरेश श्रेष्ठ भन्ने नर बहादुर श्रेष्ठलाई पक्राउ गरी ७ हजार ६ सय केजी तयारी मह र मह बनाउन प्रयोग हुने कच्चापदार्थ बरामद गर्यो । 


    जतिबेला प्रहरी टोली मह उद्योग रहेको ज्याठास्थित घरमा पुग्यो, मह उत्पादनस्थलको अवस्था र भण्डारण देखेर आफैँ दङ्ग पर्‍यो । मह उत्पादनस्थल यति फोहोर थियो कि त्यो खाद्यवस्तु उत्पादन गर्ने स्थान नभएर फोहोर सङ्कलन गरेर राखिएको स्थान जस्तो थियो । अनि मह बनाउने स्थानमा माहुरीको महभन्दा बढी चिनी र ग्लुकोज पाइएको थियो । 

    बजारमा गुणस्तरहीन र नक्कली महको बिगबिगी भएको भन्ने सूचना प्रहरीकोमा बेलाबेलामा आउने गर्थ्यो । तर पनि कुन मह सक्कली हो र कुन मह नक्कली हो भन्ने स्पष्ट आधारसहितको उजुरी वा गुनासो प्रहरीकोमा थिएन । तर केही समयअगाडि मात्रै प्रहरीले स्पर्श हनी नाम गरेको मह गुणस्तरहीन रहेको र उक्त महमा, महमा हुनुपर्ने गुण नभएको सूचना पायो । त्यसलगत्तै प्रहरीले बजारबाट स्पर्श हनि किनेर ल्यायो । अनि महमा रहेको लेबल निकाल्यो र सङ्केत नम्बर राखेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा परीक्षणका लागि पठायो । 

    महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी वसन्त कुँवरका अनुसार स्पर्श हनीमा चिनी र ग्लुकोजको मात्रा मापदण्ड अनुसारको नभएको र उक्त मह खानका लागि योग्य नरहेको भन्दै प्रयोगशालाले रिपोर्ट दिएपछि जफत गरिएको हो । कुँवरका अनुसार महमा हाइड्रोअक्सिमिथाइल (एचएमएफ) को मात्रा मापदण्डभन्दा झण्डै दुई गुणा बढी रहेको र फ्रुक्टोज तथा ग्लुकोजको अनुपात नमिलेको भन्दै उक्त मह खानका लागि योग्य नरहेको रिपोर्ट दिएको थियो ।

    प्रयोगशालाको रिपोर्टमा एचएमएफको मात्रा ७८ मिलिग्राम प्रतिकेजी पाइएको थियो । जबकि नेपाल सरकारले तोकेको मापदण्ड अनुसार महमा अधिकतम ४० मिलिग्राम प्रतिकेजी मात्रै हाइड्रोअक्सिमिथाइल प्रयोग गर्न पाइन्छ । ४० मिलिग्रामभन्दा कम एचएमएफ भएको मह मात्रै राम्रो र खानका लागि योग्य भएको विभागको मापदण्डमा उल्लेख छ । 

    त्यसैगरी फ्रुक्टोज र ग्लुकोजको अनुपात शून्य दशमलव ९५ भन्दा कम नभएको हुनुपर्नेमा उक्त हनीमा जम्मा शून्य दशमलव ८८ मात्रै पाइएको थियो । महमा हुनुपर्ने गुण र मात्रा नमिलेको पाइएपछि उक्त स्पर्श मह खानका लागि योग्य नभएको र विभिन्न नक्कली खाद्यपदार्थहरू मिसाएर नक्कली मह बनाएको पाइएपछि प्रहरीले सञ्चालकलाई पक्राउ गर्दै ७ हजार ६ सय किलोग्राम मह र मह बनाउन प्रयोग हुने कच्चापदार्थ तथा मेसिनसमेत जफत गरी ल्याएको थियो । 


    images
    images

    Logo