काठमाडौं । कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फै्रलिए सँगै अध्यागमन विभागले नेपाल आउजाउ गर्ने यात्रुकालागि नयाँ नियम जारी गरेको छ । मन्त्रिपरिषद्को पुस ३० गतेको निर्णयअनुसार विभागले विदेशबाट नेपाल आवागमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गरेको हो ।
विभागका अनुसार विदेश जाँदा आफू जाने मुलुकले तोकेबमोजिम खोप तथा स्वास्थ्य परीक्षण गरेको हुनुपर्ने छ । नतोकिएको अवस्थामा प्रस्थान गर्ने बोर्डिङ पास प्राप्त गर्नुभन्दा २४ देखि ४८ घण्टा ननाघेको कोभिड–१९ को नेगेटिभ रिपोर्टको प्रमाण साथमा हुनुपर्ने छ ।
कोभिड –१९ संकट व्यवस्थापन समन्वयन केन्द्रको वेभसाइटमा लगइन गरी अन्तर्राष्ट्रिय अनलाइन प्रस्थान फारम भरेको कागजात समेत हुनुपर्नेछ । यस्तै खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र पनि अनिवार्य गरिएको छ ।
यस्तै नेपाल आउनेको हकमा कोभिड–१९ विरुद्धको खोपको मात्रा लगाएको १४ दिन पुरा भएको हुनुपर्ने व्यवस्था गरिएको छ । यसैगरी हवाइ उडानमा चेक इन हुनुभन्दा ७२ घण्टाभित्रको कोभिड–१९ परीक्षणको रिपोर्ट नेगेटिभ भएको प्रमाण साथमा हुनुपर्ने व्यवस्था पनि गरिएको छ। यसबाहेक सीसीएमसीको वेबसाइटमा लगइन गरी नेपाल आउने व्यक्तिले फाराम भरी त्यसको प्रिन्ट साथमा राख्नुपर्नेछ ।



