images
images

५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोपको अभियान छिट्टै खोप दिइने


  • 249
    SHARES
  • २०७८ माघ ७ गते शुक्रबार

    ५ देखि ११ वर्षसम्मका बालबालिकालाई खोपको अभियान छिट्टै खोप दिइने

    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले ५ देखि ११ वर्षसम्मका बालबालिकाका लागि खोपको अभियान छिट्टै प्रारम्भ गरिने बताएका छन् । उनले १२ देखि १७ वर्ष उमेरका किशोर किशोरी १८ लाखभन्दा बढीलाई पहिलो मात्राको खोप दिइएको उल्लेख गर्दै अग्रपङ्कतिमा काम गर्ने व्यक्तिका लागि बुस्टर डोज अभियान शुरु भइसकेको बताए ।

    साथै, ६० वर्षभन्दा माथि उमेर समुहका नागरिकका लागि बुस्टर डोज यसै महिनादेखि उपलब्ध गराइने उनले जानकारी गराए ।  

    प्रधानमन्त्री देउवाले आज अपराह्न राष्ट्रका नाममा सम्बोधन गर्दै सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को सङ्क्रमणवाट जनताको जीवन रक्षा गर्ने, शीघ्र आर्थिक पुनरुत्थान गर्ने, आर्थिक सामाजिक क्रियाकलापलाई सामान्य अवस्थामा फर्काई सञ्चालन गर्ने कार्यलाई प्राथमिकतामा राखी विभिन्न सुधार कार्य अगाडि बढाएकोले गत छ महिनामा मुलुकको आर्थिक क्रियाकलापमा तीव्र विस्तार भएको बताए । सामाजिक क्रियाकलापमा पनि अपेक्षित सुधार आएको उनको भनाइ छ ।

    यस अवधिमा १८ वर्ष माथिका एक करोड–९९ लाख २२ हजार १ सय ६४ खोप लगाउन योग्य नेपाली जनता मध्येमा ५९.६ प्रतिशतलाई पूर्णमात्राको खोप उपलब्ध गराइएको छ भने ७८.३ प्रतिशतलाई पहिलो डोजको खोप वितरण गरिसकिएको छ । 

    यो अवधिसम्ममा विभिन्न प्रकारका कुल ४ करोड ३ लाख ८८ हजार ८ सय ४० डोज खोप प्राप्त गरी२ करोड ७४ लाख ७५ हजार ९ सय ९५ डोज खोप वितरण गरिएको छ । 

    पुस मसान्त सम्ममा  एक मात्रा खोप लगाएको जनसङ्ख्या १ करोड ५६ लाख ६ हजार २१ र  पूर्णमात्राको खोप लगाएको जनसङ्ख्या १ करोड १८ लाख ६९ हजार ९ सय ७४ रहेको छ ।

    कोभिड–१९ विरुद्धका विभिन्न खोपको क्लिनिकल ट्रायल गर्न अनुमति दिइएको छ । प्रधानमन्त्री दउवाले सङ्क्रामक रोग विरुद्ध खोप (भ्याक्सिन) उत्पादन गर्ने उद्योगलाई वित्तीय सहुलियत, छुट तथा सुविधा प्रदान गर्ने र तरल अक्सिजन उद्योगलाई वित्तीय सहुलियत, छुट तथा सुविधा प्रदान गर्ने नीतिगत व्यवस्था कार्यान्वयनमा ल्याइएको जानकारी गराए ।

    कोभिड–१९को सामना गर्नका लागि सरकारी अस्पतालमा पूर्वाधार सेवामा उल्लेख्य सुधार गरिएको छ । फलस्वरूप अक्सिजन प्लान्ट, भेन्टिलेटरलगायत अन्य उपचार सामग्रीको उपलब्धतामा बढोत्तरी भएको बताउँदै उनले सरकारी अस्पतालको सुधार र स्तरोन्नतिलाई प्राथमिकतामा राख्नेकार्य अघि बढाइएको बताए ।

    कोभिड–१९ को बढ्दो प्रकोपसँगै अवरुद्ध हुन पुगेको अन्य बिरामीको उपचारलाई सरकारी अस्पतालमा सुचारु गरिएको छ ।

    कोभिड–१९ को नयाँ स्वरूपको ओमिक्रोन भाइरसको सङ्क्रमण हुन नदिनका लागि रोकथाम, नियन्त्रण र उपचारको व्यवस्थालाई भरपर्दो बनाइएको छ । अक्सिजनको पर्याप्त र भरपर्दो आपूर्ति तथा भण्डारण, स्वास्थ्य पूर्वाधारको विस्तार र जनशक्तिको व्यवस्थापनमा सुधार गरिएको छ । 


    images
    images

    Logo