दमौली । तनहुँको बन्दीपुरमा निर्माणाधीन पाँचतारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ ।
होटल र केबलकारको स्तरोन्नति गरिएपछि लगानी बढेको हो । बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर २ अर्ब ६० करोड रुपैयाँ पुगेको जानकारी दिए ।
यस अगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर ५ सय पुर्याइएको छ । होटलको कोठा सङ्ख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पुर्याइएको छ । शर्माका अनुसार केबलकारको संरचनाको काम ९५ प्रतिशत सकिएको छ ।
कोरोना कहरका कारण संरचना निर्माणमा ढिलाइ भएको उनले बताए । “दुई वर्षदेखि कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमले धेरै काम प्रभावित भयो”, उनले भने, “कोरोना भाइरस सङ्क्रमणको बढ्दो जोखिमकै बीचमा पनि स्वास्थ्यमापदण्ड अपनाएर काम सुचारु गर्दै आएका छौं ।”
२०७५ साल साउन पहिलो साता शिलान्यास भई २०७७ सालफागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । तर कोभिड–१९ को प्रभावका कारण उक्त लक्ष्य प्रभावित भएको छ ।
अब २०७९साल फागुन १ गते बटम स्टेशनको सम्पूर्ण काम र केबलकारको सम्पूर्ण काम सकेर व्यावसायिक सञ्चालन गरिने शर्माले जानकारी दिए ।
कम्पनीले २०७९साल वैशाख १ गतेदेखि होटललगायत सम्पूर्ण पूर्वाधार प्याकेजसहित फुलफेजमा पर्यटन पूर्वाधारयुक्त केबलकार परियोजना सञ्चालनमा ल्याउने रणनीति बनाएको थियो ।
माथिल्लो स्टेशनको बहुआयामिक चारतारे होटलसहितको निर्माण सम्पन्न गरी २०८० असोज १ गते परियोजना मूलयोजना सञ्चालनमा ल्याउने तयारी गरिएको छ । तर कम्पनीले त्यस भन्दा अगावै २०७८ साल फागुन १ गते रेष्ट्रो जोन जोन सञ्चालनमा ल्याउने भएको छ ।
“केबलकारभित्र रेष्ट्रोको सुविधा प्रत्येक आकर्षण र हट प्रडक्ट बन्छ, प्रत्येक दिनको अफ आवर साँझ ५ बजेदेखि ९ बजेसम्म यो सेवा दिने तयारीमा छौ,” शर्माले भने । उनका अनुसार तल्लो र माथिल्लो स्टेशनमा रेष्टुरेण्ट हुने भएकाले रेष्ट्रो प्याकेजमा सेवा दिनसक्नेछ ।
यहाँ ल्याण्डस्क्यापिङ र कृत्रिम झरना पनि बनाइनेछ । बन्दिपुरको ऐतिहासिकता झल्कने गरी बन्दिपुर घडी, बन्दिपुर गार्डेन बनाउने लक्ष्य लिइएको छ ।
यस गार्डेनभित्र बटम स्टेशनको पाँच तलामाथिबाट पानीको आकर्षक झरना बनाइनेछ । यसले पर्यटकलाई लोभाउने विश्वास गरिएको शर्माले बताउनुभयो । यसैगरी वाटर पार्क, म्युजिकल वाटर शो बनाउने लक्ष्य छ ।
बन्दिपुर गाउँपालिका–४ ठूलाढुङ्गास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एसियाकै ठूलो दाबी गरिएको बिमलनगरस्थित सिद्धगुफा पनि अवलोकन गर्न सकिनेछ । ठूलाढुङ्गास्वाँराबाट सुरू हुने केबुलकार सिद्धगुफाको छेउहुँदै बन्दीपुरको उचाइसम्म पुग्नेछ । केवलकारले १ किलोमिटर ६ सय मिटर यात्रा गर्नेछ ।
आरकेडी रियल स्टेट एण्ड कन्स्ट्रक्सन प्रालि, पन्चासे केबुलकार एण्ड टुर्स प्रालि, टुरिजम इन्भेष्टमेन्ट फण्ड लिमिटेड, बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लगानीमा केवलकार परियोजना निर्माणको कामलाई अगाडि बढाइएको हो ।
लगानीदाता कम्पनी नेपाल र विदेशमा बस्ने नेपालीको कम्पनी हो, जहाँ १ हजार १ सय भन्दा बढी लगानीकर्ता रहेका छन् ।



