काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि भोलिबाट सार्वजनिक ठाउँमा प्रवेश गर्न खोप कार्ड अनिवार्य गरेको छ ।
माघ १५ गतेसम्मलाई विद्यालय बन्द गर्नुका साथै सार्वजनिक स्थालमा भीडभाड गर्न रोक लगाएको छ । त्यससँगै राजनीतिक भेला र मेला महोत्सवमा समेत बन्देज लगाइएको छ ।
पछिल्लो समय उपत्यकामा तीव्ररुपमा कोरोनाको संक्रमण बढेसँगै रोकथाम तथा नियन्त्रण गर्नका लागि सरकारले सो रणनीति अपनाएको हो ।
सरकारले खोप लगाउन बाँकी रहेका व्यक्तिहरूलाई खोप लगाउन उत्प्रेरित गर्नका लागि भोलिबाट सार्वजनिक सेवा प्रवाहमा खोप कार्ड अनिवार्य छ ।
खोप लगाएका व्यक्तिहरूमा कम जोखिमपूर्ण हुने मान्यतालाई आधार मान्दै सरकारले खोपलाई प्राथमिकतामा राखेको छ । हाल दैनिक रुपमा ११ हजारभन्दा बढी संक्रमण हुँदै गएको छ । जसले गर्दा सरकारले लकडाउनको सट्टा सतर्कता अपनाउन जोड दिएको हो ।
सरकाले अहिले खोपमा जोड दिँदै देशभर खोप लगाउनका लागि व्यवस्था गरेको छ । त्यस्तै, सरकारले उपत्यकाको हकमा विभिन्न १९ वटा खोप केन्द्र तोकेको छ । जसमा जो कोही नागरिकले आफूलाई पायक पर्ने स्थानमा गएर बुस्टर डोज लगाउन सक्नेछन् ।
त्यसैले सरकारले सार्वजनिक क्षेत्रमा हिँडडुल गर्नका लागि खोप अनिवार्य गरेपछि खोप लगाउनेको भिड बढेको छ ।



