काठमाडौं । नेपाल धितोपत्र बोर्डले बुधबार ७ कम्पनीलाई आईपीओ निष्कासन गर्न अन्तिम स्वीकृति प्रदान गर्यो । बोर्डले ५ कम्पनीको आईपीओ र २ कम्पनीको हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो ।
आईपीओ जारी गर्ने अनुमति पाउने कम्पनीहरुमा जाल्पा सामुदायिक लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर छन् भने हकप्रद निष्कासनको अनुमति पाउनेमा शिखर इन्स्योरेन्स र आईएमई जनरल इन्स्योरेन्स रहेका छन् । बोर्डले बुधबार नै ती कम्पनीहरुलाई यस्तो स्वीकृति दिएको बोर्डका सहायक प्रवक्ता दीपा दाहालले जनाकारी दिइन् ।
तर, बोर्डले औपचारिक रुपमै जानकारी दिए पनि आधिकारिक रुपमा जानकारी भने गराएको छैन । बोर्डका गतिविधिबारे आम जनताले आधिकारिक जानकारी पाउने ठाउँ भनेको बोर्डको वेभसाइट हो । तर, १ दिन बितिसक्दा पनि यससम्बन्धी कुनै सूचना राखेको छैन ।
दोस्रो बजारमा सूचीकृत कम्पनीका लगानीकर्ताले बजारमा त्यस्ता कम्पनीसम्बन्धी निर्णय तत्कालै प्राप्त गर्न पाउनुपर्छ । नत्र त्यसरी समयमा सूचना प्रवाह नगर्नेमाथि इन्साइडर ट्रेडिङसम्बन्धी बोर्डले नै बनाएको नियमावली आकर्षित हुन्छ ।
तर, समयमै सूचना प्रवाह नगरेर बोर्डले आफ्नै नियमावलीलाई उल्लंघन गरेको छ । बोर्डकी सहायक प्रवक्ता दाहालले प्राविधिक कारणले बेभसाइटमा यो सूचना अपलोड हुन नसकेको हुनसक्ने बताइन् ।



